After header

काभ्रेको पनौतीमा मोबाइल व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम

काभ्रे । ‘रक्तदान–जीवनदान’ भन्ने मूल नाराका साथ जिल्लाको पनौती नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रे मोबाइल व्यवसायी संघ, पनौती शाखाको आयोजनामा पनौती बसपार्कस्थित तरकारी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेमा ४ जना महिला र २४ जना पुरुष रहेको आयोजकले जनाकारी दिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बनेपाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रम काभ्रे मोबाइल व्यवसायी सघं काभ्रेका अध्यक्ष मधुर दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गरिएको थियो ।

अध्यक्ष दाहालले रक्तदानले मानवीय सेवासँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका थिए । अध्यक्ष दाहालले नियमित रक्तदानको माध्यमबाट आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै व्यवसायीहरू व्यापार–व्यवसायमा मात्र सीमित नभई सामाजिक सेवामा पनि सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।

उनले आगामी दिनमा पनि संघले सामाजिक सेवाका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा मोबाइल व्यवसायी तथा स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा रक्तदाताहरूलाई धन्यवाद दिँदै सामाजिक सेवामा सहकार्य गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

कार्यक्रमका अवसरमा ३ जना आजीवन सदस्य र १७ जना साधारण सदस्यलाई सदस्यता प्रदान गरिएको काभ्रे मोबाइल व्यवसायी संघ, पनौती शाखाले जनाएको छ । संघले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेका मठ–मन्दिर तथा सम्पदा स्थलहरूको सरसफाइ अभियान सञ्चालन गर्ने भावी योजना समेत सार्वजनिक गरेको थियो । व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायिक हितसँगै सामाजिक सेवाका गतिविधिलाई समेत अघि बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संघले जनाएको छ ।

एक पटक पढ्नुहोस