After header

नमोबुद्ध कांग्रेसको सभापतिमा युवा नेता तिवारीको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत नमोबुद्ध नगरकार्यसमितिको सभापति पदमा युवा नेता रमेश तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार हुने पालिका अधिवेशनलाई लक्षित गर्दै तिवारीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धतासहित सभापति पदमा आफ्नो उम्मेदवारी अघि सारेका बताए ।

पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया तीव्र भइरहेका बेला तिवारीले संगठन निर्माण, कार्यकर्ता बीचको एकता, लोकतान्त्रिक मूल्य–मान्यता, सहकार्य, संवाद र पारदर्शितालाई आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाई छ । उनले कांग्रेसलाई स्थानीय तहमा थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र सक्रिय सहभागिता आवश्यक रहेको समेत बताए ।

स्थानीय तह निर्वाचनपछि विशेषगरी नमोबुद्ध नगरपालिका–३ मा विकास निर्माण तथा जनहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका तिवारीले पार्टी संगठनलाई जनतासँग प्रत्यक्ष जोड्दै अघि बढाउने धारणा राखेका छन् ।तिवारीको उम्मेदवारीसँगै नमोबुद्ध कांग्रेसको नगर नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले उम्मेदवारहरूको विगतको राजनीतिक तथा सामाजिक भूमिका, संगठनप्रतिको प्रतिबद्धता, कार्यकर्तासँगको सम्बन्ध र भावी योजनालाई आधार बनाएर नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।
नगर सभापतिको दौडमा युवा नेतृत्वको दाबी अघि सार्दै तिवारीले आफूलाई संगठनलाई गतिशील बनाउने र कार्यकर्ताको आवाजलाई प्राथमिकतामा राख्ने नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् । आज बुधबार हुने अधिवेशनले नमोबुद्ध कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ ।

एक पटक पढ्नुहोस