काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउन आवश्यक नीति निर्माणलगायतका विषयमा छलफल सम्पन्न भएको छ । नगरपालिकाको नगर सभाहलमा आयोजित छलफल कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, वडाध्यक्ष तथा सम्बन्धित सरोकारवालाबीच फोहोरमैला व्यवस्थापनका चुनौती, वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख निराजन जंगमले फोहोरमैला व्यवस्थापन नगरपालिकाको प्रमुख दायित्वसँगै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र नागरिकको सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।
उनले फोहोर उत्पादन हुने स्थानदेखि नै वर्गीकरण गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने, कुहिने तथा नकुहिने फोहोर छुट्याउने प्रणालीलाई व्यवहारमा लागू गर्नुपर्ने र फोहोरलाई समस्याका रूपमा मात्र नभई पुनःप्रयोग तथा पुनःउत्पादनको सम्भावनासँग जोडेर हेर्नुपर्ने उनको भनाई थियो ।

कार्यवाहक नगर प्रमुख जंगमले भने, “फोहोरमैला व्यवस्थापन केवल नगरपालिकाले मात्रै गरेर सम्भव हुँदैन । घर, टोल, वडा हुँदै नगरस्तरसम्म सबैको भूमिका आवश्यक हुन्छ । अब फोहोर व्यवस्थापनलाई तत्कालीन रूपमा मात्र नभई दीर्घकालीन नीति र योजनासहित अघि बढाउनुपर्छ।”
छलफलमा सहभागी वडाध्यक्षहरूले आ–आफ्नो वडामा देखिएका फोहोरमैला व्यवस्थापनका समस्या र चुनौतीबारे धारणा राखेका थिए । उनीहरूले नियमित फोहोर संकलन, सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्तिको नियन्त्रण, फोहोर वर्गीकरण, जनचेतना अभिवृद्धि तथा आवश्यक पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिनुपर्ने बताएका थिए ।
वडाध्यक्षहरूले फोहोर व्यवस्थापनमा नीति बनेर मात्रै नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमनलाई समेत सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका थिए । नागरिकलाई जिम्मेवार बनाउने गरी टोल–टोलमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा फोहोर व्यवस्थापनमा लापरबाही गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा फोहोर संकलन तथा व्यवस्थापनको विद्यमान अवस्था, आवश्यक जनशक्ति तथा उपकरण, फोहोर वर्गीकरण, व्यवस्थापनस्थल, वातावरणीय प्रभाव, नागरिक सहभागिता र नगरपालिकाले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका विषयमा समेत छलफल भएको थियो ।
नगरपालिकाले छलफलबाट प्राप्त सुझावलाई समेट्दै फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक नीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने जनाएको छ । फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन नीति निर्माणसँगै नागरिकको व्यवहार परिवर्तन, नियमित अनुगमन र वडा तहसम्मको सक्रिय सहभागितालाई जोड दिइने नगरपालिकाको भनाइ रहेको छ ।
