After header

नमोबुद्धमा शिक्षा क्षेत्रका हस्तान्तरित कार्यक्रमबारे प्रबोधीकरण

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ मा संघीय सरकार तथा नगरपालिकाबाट शिक्षा क्षेत्रतर्फ हस्तान्तरित कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय र स्पष्टताका लागि एकदिने ‘प्रबोधीकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा सञ्चालन हुने संघीय तथा स्थानीय तहबाट हस्तान्तरित कार्यक्रम, कार्यान्वयन प्रक्रिया, बजेटको उपयोग, विद्यालयको भूमिका तथा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले हस्तान्तरित कार्यक्रमको उद्देश्यअनुसार प्रभावकारी कार्यान्वयन गर्न विद्यालय प्रशासन, प्रधानाध्यापक तथा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कार्यक्रम कार्यान्वयनमा देखिने अन्योल हटाउँदै आवश्यक समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “सरकारले शिक्षा क्षेत्रका लागि उपलब्ध गराएका कार्यक्रम तथा बजेटको सही सदुपयोग गर्दै त्यसको प्रत्यक्ष लाभ विद्यार्थीले पाउने वातावरण निर्माण गर्नुपर्छ । विद्यालयले कार्यक्रमको उद्देश्य र कार्यान्वयन प्रक्रियालाई स्पष्ट रूपमा बुझेर जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ ।”

कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउनेतर्फ योजनाबद्ध रूपमा काम गरिरहेको बताए । उनले संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमलाई स्थानीय आवश्यकता र विद्यालयको वास्तविक अवस्थासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख लामाले विद्यालयको समग्र सुधारका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । “कार्यक्रम सञ्चालन गर्नु मात्र उपलब्धि होइन, त्यसको परिणाम विद्यार्थीको सिकाइ र विद्यालयको शैक्षिक वातावरणमा देखिनुपर्छ,” उनले भने ।

कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले पनि शिक्षा क्षेत्रमा आउने कार्यक्रमहरू कार्यान्वयन गर्दा विद्यालयको वास्तविक आवश्यकता, विद्यार्थीको अवस्था र स्थानीय परिवेशलाई ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनीहरूले कार्यक्रमबारे समयमै स्पष्ट जानकारी प्राप्त हुँदा विद्यालयस्तरमा योजना निर्माण तथा कार्यान्वयन गर्न सहज हुने उनीहरुके भनाई थियो ।

शिक्षकहरूले विद्यालयमा उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा प्रविधिमैत्री शिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।कार्यक्रमले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा सञ्चालन हुने हस्तान्तरित कार्यक्रमबारे विद्यालय तहमा आवश्यक जानकारी र साझा बुझाइ निर्माण गर्न सहयोग पुगेको बताएका थिए ।

एक पटक पढ्नुहोस