काभ्रे । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिमाल गाउँपालिकाले वडा सदस्यदेखि वडा अध्यक्ष हुँदै गाउँपालिका अध्यक्षसम्मका आकांक्षीहरूलाई एकै ठाउँमा उभ्याएर चुनावी तयारीलाई तीव्रता दिएको छ । उम्मेदवार बन्ने आकांक्षीहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले पार्टीभित्र विभाजन र मनमुटाव निम्त्याउन नहुने सन्देश भेलाबाट दिइएको छ ।
भेलालाई सम्बोधन गर्दै रास्वपा काभ्रे जिल्ला संगठन उपप्रमुख कुमार अधिकारीले उम्मेदवार को बन्छ भन्नेभन्दा पनि पार्टी कसरी एकताबद्ध भएर निर्वाचनमा जान्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले तिमालमा पार्टीको जितका लागि व्यक्तिगत महत्वाकांक्षा त्यागेर सामूहिक नेतृत्व र एकताको भावना विकास गर्नुपर्नेमा जोड दिए ।
“मलाई पद चाहिएको छैन, मेरो भन्ने कुनै स्वार्थ छैन । म साधारण कार्यकर्ताका रूपमा रहेर पनि काम गर्न तयार छु । पार्टीले जसलाई उम्मेदवार बनाउँछ, म उसैलाई काँधमा बोकेर हिँड्न तयार छु,” अधिकारीले स्पष्ट शब्दमा भने ।उनले उम्मेदवार बन्ने आकांक्षा राख्नेहरूबीच अस्वस्थ प्रतिस्पर्धा भए त्यसले पार्टीलाई नै कमजोर बनाउने चेतावनीसमेत दिए । उम्मेदवार छनोटका क्रममा कसैको मन दुख्ने, असन्तुष्टि बढ्ने र त्यसकै कारण कार्यकर्ता विभाजित हुने अवस्था आउन नदिन नेतृत्व सचेत हुनुपर्ने उनको भनाइ थियो ।
“हामी झगडा गर्ने होइनौँ, एकअर्काविरुद्ध बोल्ने होइनौँ, छुट्टिने पनि होइनौँ । हामी एउटै पार्टीका मानिस हौँ । कसैलाई व्यक्तिगत रूपमा अघि बढाउने भन्दा तिमालका सबैलाई एक ठाउँमा उभ्याउनुपर्छ,” अधिकारीले भने ।उनले उम्मेदवारका आकांक्षी धेरै हुनु पार्टीका लागि अवसर भए पनि त्यसलाई व्यवस्थापन गर्न नसके समस्या बन्न सक्ने संकेत गरे ।
उम्मेदवार छनोट प्रक्रियामा पार्टीबाट पनि केही कमजोरी हुन सक्ने स्वीकार गर्दै सबैको भावना समेटेर साझा टिम निर्माण गर्नुपर्ने धारणा राखे ।अधिकारीले तिमालको विकासका लागि व्यक्तिगत स्वार्थ र गुटगत सोच त्याग्नुपर्ने उल्लेख गर्दै स्थानीय नेता, कार्यकर्ता र आकांक्षी सबैलाई एकजुट हुन आग्रह गरे ।
निर्वाचनमा कसले टिकट पाउँछ भन्ने विषयभन्दा तिमालमा जनताको विश्वास जित्ने र विकासको जिम्मेवारी पूरा गर्ने विषय ठूलो भएको उनको भनाई थियो ।तिमालमा वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीहरू देखिन थालेसँगै रास्वपाभित्र चुनावी गतिविधि बढेको छ । तर आकांक्षी व्यवस्थापन, उम्मेदवार छनोट र असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नु पार्टीका लागि महत्वपूर्ण चुनौती देखिएको छ ।
भेलाले उम्मेदवारको व्यक्तिगत दाबीभन्दा संगठनको निर्णय, आपसी सहकार्य र सामूहिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । अब तिमालमा रास्वपाले चुनावी तयारीलाई संगठन विस्तारसँगै स्थानीय जनताका समस्या, विकासका आवश्यकता र सुशासनका मुद्दासँग जोडेर अघि बढाउने अपेक्षा गरिएको छ ।
