काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका तेमालवासीलाई एकीकृत गर्दै जन्मभूमिसँगको सम्बन्ध, आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेमालले मंसिर १३ गते बृहत् भेला आयोजना गर्ने भएको छ ।
काठमाडौंमा रहेका तेमालवासीलाई एउटै साझा मञ्चमा जोड्दै सामाजिक, आर्थिक, शैक्षिक तथा विकास निर्माणका क्षेत्रमा सामूहिक सहकार्य अघि बढाउने लक्ष्यसहित भेला आयोजना गर्न लागिएको हो । भेलाको मुख्य आकर्षणका रूपमा तेमाल–काठमाडौं सम्पर्क विभाग गठन गरिने आयोजकले जनाएको छ । कपन, नारायणचोकस्थित मिलनचोक पार्टी भेन्युमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा २ सय भन्दा बढी तेमालवासीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
भेलामा व्यवसायी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, युवा तथा पार्टीका शुभेच्छुक र समर्थकहरूको सहभागिता रहने आयोजकको विश्वास छ ।काठमाडौंमा रहेका तेमालवासीबीच नियमित सम्पर्क, समन्वय र सहकार्यलाई संस्थागत गर्दै जन्मभूमिको विकासमा उनीहरूको ज्ञान, सीप, अनुभव र स्रोतसाधन परिचालन गर्ने उद्देश्यले सम्पर्क विभाग गठन गर्न लागिएको हो । उक्त विभागको संयोजकमा जनक तामाङ रहेका छन् ।
भेलामा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मधु चौलागाईं, रास्वपा काभ्रे जिल्ला सभापति प्रवीण ढकाललगायत पार्टीका नेता, प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने रास्वपा तेमालका संस्थापक सचिव प्रदीप मैनालीले जानकारी दिए । मैनालीका अनुसार भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन तथा समन्वयका काम सम्पन्न गरिएको छ । उनले काठमाडौंमा बसोबास गर्दै आएका सम्पूर्ण तेमालवासीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । ‘हामी जुनसुकै ठाउँमा रहे पनि हाम्रो जन्मभूमि तेमालसँगको सम्बन्ध कहिल्यै टुट्नु हुँदैन ।
काठमाडौंमा रहेका तेमालवासीबीच चिनजान, एकता र सहकार्य बढाउँदै आफ्नो जन्मभूमिको विकास र समृद्धिमा योगदान पु¥याउने साझा उद्देश्यका साथ यो भेला आयोजना गरिएको हो । हाम्रो जन्मभूमि तेमाल बनाउने जिम्मेवारी हामी सबैको हो,’ मैनालीले भने । भेलाले काठमाडौंमा रहेका तेमालवासीलाई संगठित गर्दै जन्मभूमिको पहिचान, विकास र समृद्धिका लागि सामूहिक पहल गर्ने साझा आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
विशेषगरी राजधानीमा रहेर विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका तेमालवासीको ज्ञान, सीप र क्षमतालाई जन्मभूमिको विकाससँग जोड्न सके त्यसले स्थानीय विकासमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास आयोजकले लिएको छ ।
