काठमाडौं–सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उनलाई पदबाट हटाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।
यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको थियो ।
कार्यसम्पादन सन्तोषजनक नभएको आरोप उनीमाथि थियो ।
यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए ।
त्यतिबेला प्रधानमन्त्री ओलीले राजभण्डारीलाई बोलाएर टेलिकमले काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको बिषयमा प्रष्टिकरण सोधेका थिए ।
त्यसलगत्तै उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई सात दिने स्पष्टिकरण सोधेको थियो । तर त्यतिबेला उनको पद जोगिएपनि यो पटक पद जोगिएन ।
२०७३ असोजमा उनी तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।
उनी पदमुक्त भएसँगै अब सरकारले नयाँ प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने बताइएको छ ।
