निर्मला हत्याको २ बर्ष : न दोषी पहिचान, न परिवारले पाए न्याय

१० साउन कैलाली । साथी कहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त अवेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोपिल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटियो ।

पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर छ । तर घटनाको दुई बर्ष सम्म पनि दोषी पहिचान गर्न सकेन ।

शनिबार निर्मलाको हत्या भएको दुई बर्ष पुगेको छ । यो अवधिमा प्रहरीले थुप्रै आरोपी पक्राउ गर्‍यो । तर कसले, कसरी र किन हत्या गर्‍यो भन्ने गतिलो प्रमाण भेटिएको छैन । त्यसैदले पक्राउ परेकाहरू केही समयमै छुटे ।

एकसय भन्दा बढीलाई केरकार गरेर छोडेको प्रहरीले दिलीपसिंह विष्टलाई भने दोषी ठहर पनि गरेको थियो । घटना भएको २४ औं दिन अर्थात ४ भदौ २०७५ मा प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर विष्ट अभियुक्त भएको प्रहरी दाबीमा कञ्चनपुरबासी सहमत भएनन् र आन्दोलन सुरु भयो । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका १८ का १४ वषर्ीय किशोर सन्नी खुनाको ज्यान गयो भने १२ जनाभन्दा बढी घाइते भए । आन्दोलन उग्र बन्दै गर्दा विष्टको डीएनए मेल नखान र उनी छुटे । त्यसपछिका अनुसन्धानमा प्रहरीले दर्जनभन्दा बढीको डिएनए परीक्षण गर्‍यो । तर सबैको डिएनए मेल खाएन र छुटेका छन् ।

सुरुबाटै अनुसन्धान कमजोर हुँदा दोषी पहिचान हुन नसकेको प्रहरीले स्वीकार गरेको छ । ‘सुरुमा अनुसन्धानमा केही कमजोरी भए’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले भने, ‘प्रहरीलाई अनुसन्धानमा बाधा पुग्ने गरी आन्दोलन भयो र अनुसन्धान प्रभावित बन्यो ।’

यद्यपि अब केही समयमै उपलब्धि हात पार्ने उनको दाबी छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको भन्दै उनले भने, ‘विज्ञसहित टोली अनुसन्धानमा छ, घटनाको वास्तविकता बाहिर आउँछ । ‘

नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्रीले घटनालाई नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी स्रोतको दाबी छ । यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले आफ्नो कार्यकालमा यो मुद्दा टुंग्याउन चाहेका थिए । तर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन दुबै सफल भएनन् ।

न्यान नपाउने चिन्ता

निर्मलाको परिवारलाई भने न्यान नपाइने हो कि भन्ने चिन्ता छ । ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन । न्यायका लागि आवाज उठाउँदा पनि प्रहरीले अपराधी समात्न सकेन ।’

अनुसन्धान गर्ने भन्दै कयौं पटक प्रहरी आएको र आफूले वास्तविकता बताउँदा पनि दोषी पक्राउ नगरेको उनको भनाइ छ । ‘प्रहरीहरू आइरहन्छन्, हामीले सबै भन्छौँ’ उनले अनलइनखबरसँग भनिन्, ‘हिजो अस्ति पनि आएका थिए । तपाइहरू केहि गर्नुहुन्न, हाम्रो आशा मरिसक्यो भनेर फर्कायौं ।’

निर्मलाका बुवा यज्ञराजले न्यायका लागि कुनै कसर बाँकी नराखेको बताए । ‘न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यान नै गयो, तर सरकारले चासो दिएन’ उनले भने ।

परिवारका सदस्य मात्रै होइन, छिमेकी र अधिकारकर्मीहरू पनि पन्त परिवारले न्याय पाउँदैनन् कि भन्ने चिन्तामा छन् । ‘हिजो अस्ति पनि हामीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेट्न गएका थियौँ’ महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘पहिले जस्तै आश्वासन पाएर फर्कियौँ ।’

समिति आए, गए !

गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मला पन्तको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा ल्याएर फालिएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको देखिएको उल्लेख छ ।

लगतै प्रहरी प्रधान कार्यालयले तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि उल्टाखाममा पुगे । आयोगले डिएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकालेको थियो । उसका नमुना सकंलन प्रक्रिया त्रुटिपूर्ण थियो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले दर्जनौँ छानबिन समिति आए पनि दोषी पहिचान नभएको भन्दै दुख पोखिन् । ‘कयौँ समिति आए, हामीलाई अनेकौँ कुरा सोधे, लेखे अनि गए’ उनले भनिन् ‘तर कसैले दोषी किटान गर्न सकेनन् ।’

एक पटक पढ्नुहोस