प्रहरी कर्मचारीमाथि हातपात, दुईजना पक्राउ

सल्यान । बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बाग्चौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र  २३ वर्षीय दोर्ण गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीले चलाएको रा.४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादकपदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु.२ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।

घटनाबारे प्रहरीले सोधपुछ गर्नेक्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षीय जीवन श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

बा ९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

दुर्व घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एक पटक पढ्नुहोस