कोइरालाको कैद सजाय घटाउने फैसला बढो नाटकीय ढंगले आयोः नेता गिरी

तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नै श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसला बढो नाटकीय ढंगले आएको बताएका छन् ।

गृहजिल्ला दाङ आएका पूर्वमन्त्री समेत रहेका गिरीले पदमा बसेको एउटा मान्छेले एक नारीमाथि गरेको जघन्ने अपराधमा कानुनी निर्णय बढो नौटङ्की ढंगले आएको टिप्पणी गरेका हुन् ।

तुलसीपुरस्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णय भत्सर्नायोग्य भएको बताए ।

‘जघन्य अपराधमा कानुन मुताविक जस्तो सजाय हुनुपर्ने हो । त्यो नभएर बढो नौंटङ्की ढंगले निर्णय आएको छ,’ गिरीले भने, ‘त्यो भत्सर्ना गर्न योग्य छ ।’

उक्त मुद्दा पुनरावलोकन गर्न महान्यायाधीवक्ताको कार्यालयले निवेदन दिइसकेको हुँदा यसमा पुनः न्यायालयको शाख जोगाउन भूमिका हुने विश्वास रहेको उनले बताए ।

सर्वोच्च अदालतले आफैले प्रतिपादन गरेका कानुन सिद्धान्तविपरित असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्याइदिएको थियो ।

सर्वोच्चको फैसलाका आधारमा कोइराला बिहीबार छुटिसकेका छन् । उक्त विषयमा बिहीबार महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएकोछ ।

नेता गिरीले नेकपाका दुईतिहाई बहुमतको सरकार पूर्णतया असफल शिद्ध भइसकेको दाबी गरे ।

कम्यूनिष्टहरु जनतााई झुक्काएर, राष्ट्रियताको खोक्रो नारा दिएर ठूलो पार्टी बनेको भएपनि अहिले आएर उनीहरुलाई मतदान गर्ने जनता नै निराश भएको अवस्था रहेको उनले बताए ।

उनले सरकार भ्रष्टचार काण्ड, जग्गा काण्ड, वाइडबडी काण्ड, ओम्नी काण्ड, स्वास्थ्य उपकरण खरिद काण्ड जस्ता काण्डै काण्डमा फसेको जिकिर गरे ।

कोरोना भाइरस महामारीबाट जनतालाई जोगाउन सरकारले रचनात्मक कुनैपनि कार्यक्रम गर्न नसकेको उनले आरोप लगाए ।

फरक प्रसंगमा नेता गिरीले क्रियाशिल सदस्यता वितरण गर्दा नेपाली काँग्रेसको विधान र चारतारे झण्डामुनी बसेर इमान्दारीका साथ लागिपर्ने सबै युवाहरु क्रियाशिल सदस्यता लिनका लागि आतुर रहेको हुँदा त्यस्ता युवाहरुलाई वितरण गर्नुपर्ने तर्क गरे ।

एक पटक पढ्नुहोस