After header

‘चितवनका अस्पताल, दाना उद्योग र ग्यारेजमा कोरोना संक्रमणको बढी जोखिम’

२५ साउन, चितवन । चितवन अहिलेसम्म ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ९ छ । अरु संक्रमितहरू संक्रमणमुक्त भएका छन् ।

झट्ट हेर्दा चितवन जिल्लामा संक्रमणको दर तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा निकै कम देखिन्छ । यसले यहाँको प्रशासन, अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर सँगसँगै अन्य जिल्लामा जस्तै समुदायमा संक्रमण फैलिने हो की भन्ने चिन्ता पनि थपिएको छ ।

जिल्लाभित्र सार्वजनिक सवारी साधान, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउन थालेका छन् । सानातिना कार्यक्रम लुकिछिपी हुन थालेका छन् । राजनीतिक दलहरुले कार्यकर्ता भेलासमेत गर्न थालेपछि कोरोनाको संक्रमण फैलिन सक्ने त्रास सुरु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राजधानी काठमाडौं जाने मुख्य नाका, वीरगञ्ज र भैरहवा क्षेत्र एवम् त्यसको मुख्य प्रवेश केन्द्र चितवन भएकाले कोरोनाको जोखिममा चितवन पनि परेको बताए । ‘वीरगञ्जमा कम्युनिटीमा नै कोरोना फैंलिन थालेको छ, जनप्रतिनिधिदेखि विभिन्न चिकित्सक र राजनीतिज्ञ कोरोनाबाट संक्रमित बनेका छन्, यसले पक्कै पनि सुरक्षा जोखिम बढाएको महसुस भएको छ,’ प्रजिअ भट्टराईले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिले चितवनका अस्पतालहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सबैभन्दा जोखिममा छ ।

प्रजिअ नारायणप्रसाद भट्टराई

देशभरकै क्यान्सरका रोगीहरु उपचारका लागि आउने, त्यसमध्ये रेड जोनबाट बढी आउने गर्दा अस्पताल नै संक्रमणको केन्द्र बन्ने हो की भन्ने चिन्ता बढेको छ । बढी जोखिम भएकोले बढी सावधानी अपनाउन भनिएको प्रजिअ भट्टराईले बताए ।

प्रजिअ भट्टराईले अस्पतालपछि यहाँका दाना उद्योग र ग्यारेजहरु बढी जोखिममा रहेको बताए । यी ठाउँमा काम गर्ने कामदारहरु भारत तथा प्रदेश २ बाट लुकिछिपी आएको सूचना प्रशासनले पाएको छ । ती क्षेत्रमा अनुगमन बढाएर केही ठाउँबाट नमूनासमेत संकलन गरी परीक्षण गर्ने तयारी गरिएको प्रजिअ भट्टराईले बताए ।

अस्पतालमा आउने बिरामीहरुको अप्रेसन गर्नुअघि नमूना संकलन गरी परीक्षण गर्दा केहीमा कोरोना संक्रमण पुष्टिसमेत भएको पाइएको छ । प्रदेश नं. २ बाट आउने बिरामीहरु नै संक्रमित भेटिएका छन् । क्यान्सर अस्पतालसँगै भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र केही निजी अस्पताल बढी जोखिममा रहेको आँकलन प्रशासनको छ ।

उद्योग वाणिज्य संघ तथा चितवन उद्योग संघका प्रतिनिधि र विभिन्न कामका लागि कामदार ल्याएर राख्ने व्यवसायीहरुसँग प्रशासनले छलफल गरेर यस्ता कामदारहरुको लगत विवरण बुझाउन भनेको छ । थप कामदार आवश्यक भए जानकारी गराएर मात्रै ल्याउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

नाकामा निगरानी

कोरोना जोखिम भएका बैंक तथा वित्तिय क्षेत्रहरुलाई विशेष सावधानी अपनाउन भनिएको छ । लकडाउन खुलेसँगै जिल्लाको पूर्वी नाका लोथरमा कम गरिएको चेकजाँचलाई फेरि बढाउन थालिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर हेटौंडाको रातामाटेमा पनि चेकजाँच गर्न अनुरोध गरिएको प्रजिअ भट्टराईले बताए ।

चितवन प्रवेशको पश्चिम नाकामा भने निकै समस्या छ । गैंडाकोट नगरपालिकाका वासिन्दाहरुको बजार र व्यवसाय नारायणगढ भएको तथा नारायणीको पुलमा सवारी रोकेर जाँच गर्दा पुलमा भार पर्ने र भिडभाड हुने देखिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर दाउन्ने क्षेत्रतिर नै जाँच गर्न अनुरोध गर्ने प्रजिअ भट्टराईले बताए । ‘हेटौंडा र दाउन्नेको बीचको भागलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता हामीलाई छ, दुई ठाउँमा जाँच कडा गरेर यो बीचको भेगलाई केही खुकुलो बनाउँदा पनि फरक पर्ने थिएन,’ प्रजिअ भट्टराईले  भने ।

चितवन भएर जाने सवारीलाई बीचका राजमार्गका होटलमा रोक्न नदिने र नभ्याउने गरी टाइमकार्डको व्यवस्था गर्ने तथा स्थानीय समुदायबाट निगरानी बढाउने योजना पनि बनेको प्रजिअ भट्टराईले  बताए ।

जिल्लामा १३ सयभन्दा बढी टोल सुधार समितिहरु छन् । ७ स्थानीय सरकार र टोल सुधार समितिमार्फत सचेतना फैलाउने कामलाई निरन्तरता दिने योजना प्रशासनको छ ।

समुदायमा परीक्षण गरिने

भरतपुर कोभिड–१९ प्रयोगशालामा अस्पतालमा अप्रेसन गर्न ठिक्क पारेका बिरामी र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको मात्रै कोरोना नमूना परीक्षण गरिएको छ । अहिले दैनिक १५० देखि १८० को हाराहारीमा मात्रै कोरोना परीक्षण हुँदै आएको छ । यो निकै कम हो । कोरोना जोखिम भत्ता नपाएको भन्दै ल्यावका चिकित्सक तथा प्राविधिकले परीक्षणको दर घटाएका छन् ।

गएको साउन ९ गते कोरोना देखिएपछि एकैपटक २१ गते एक जना र २३ गते दुई जनामा कोरोना संक्रमण देखियो । बुधबार भरतपुर महानगरपालिका वडा नं. १ का ७९ वर्षका एक पुरुष र शुक्रबार उनकै घरका दुई सदस्य ४६ वर्षका पुरूष र ३८ वर्षकी महिलामा कोरोना पोजेटिभ भेटियो । तर संक्रमितको स्रोत नै पत्ता लाग्न सक्ने अवस्था देखिएको छैन ।

संक्रमितको परिवारका सदस्यबाहेक अन्यको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि गाह्रो हुने अवस्था छ । चितवनको समुदायमा कोरोना छैन भन्ने अवस्था रहेको जिल्लाका स्वास्थ्यकर्मी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, अब समुदायमा पनि गएर कोरोनाको र्‍याण्डम नमूना संकलन गरी परीक्षण गर्ने योजना बनाएको बताउँछन् । पहिला दाना उद्योग र ग्यारेजहरुबाट नमूना लिने योजना छ । ‘अस्पतालले पनि कम्युनिटीको प्रतिनिधित्व गरेका छन् । तर पर्याप्त छैन,’ प्रजिअ भट्टराई भने, ‘टाँडी, पर्सा, भरतपुरका विभिन्न क्षेत्रबाट नमूना लिन्छौं ।’

चितवनको समुदायमा संक्रमण फैलिएको सामान्य संकेत पाउनासाथ आवतजावतमा रोक लगाउने तयारी प्रशासनको छ । ‘सरकारले एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा कडाइ गर्ने अधिकार नै दिएको छ, पछिल्लो कानुनले जिल्लालाई पनि अधिकार दिएको छ, हामी त्यो अवस्था नआओस् भन्नेतिर छौं, त्यसैले समुदायमा जाने खतरा देखिने वित्तिकै संक्रमित क्षेत्र सिल गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

कोरोना संक्रमण देखिएको भरतपुर–१ पुतलीबजार क्षेत्र सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले संक्रमितको घर वरपरको क्षेत्रमा सिल गरिएको जानकारी दिए । सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

सिल गरिएको क्षेत्रमा तीन वटा चोकका झन्डै ५० घर परेका छन् । संक्रमितको सम्पर्कमा आएका २६ जनाको नमूना संकलन गरी परीक्षणको तयारी गरिएको छ ।

 

एक पटक पढ्नुहोस