बुद्धले दिएको सफलताको चौथो सूत्रः सम्यक कर्म

सिद्धार्थ गौतम दरबार र राजपाट छोडी भिक्षु भई हिँडेकोले हामीलाई लाग्नसक्छ, बुद्धले संसारबाट विमुख हुन मात्रै सिकाएको होला, निराश हुन मात्रै सिकाएको होला । उनको शिक्षा भौतिक, व्यापारिक उन्नतिको लागि के नै काम लाग्ला र ? तर बुद्धको शिक्षा पढ्दै जाँदा थाहा पाइन्छ, उनले सधैं नै आर्थिक उन्नतिको लागि उद्यमशील रहन प्रोत्साहित गरेका थिए ।वास्तवमा बुद्धले भिक्षु र गृहस्थ दुवैलाई उद्योगी भएर बस्न बारम्बार भनेका छन् । भिक्षुहरूको लागि उद्योगी हुनु भनेको ध्यानमा दत्तचित्त हुनु हो भने गृहस्थको लागि व्यवसायमा क्रियाशील हुनु हो । त्यसैले बुद्ध कर्मवादी हुन् । तर हाम्रो भाषामा कर्मले दुइटा अर्थ दिन्छ — भाग्य र कार्य । कसैले भाग्यलाई नै कर्म भन्छन् र जीवन भाग्यद्वारा निश्चित गरिएको मान्छन् । यसलाई नियतिवाद (डिटरमिनिजम्) भनिन्छ । त्यसको विपरित कतिले जीवन पूर्ण रूपमा आफ्नै ईच्छाले चल्ने मान्छन् । त्यसलाई स्वतन्त्र इच्छाको सिद्धान्त (फ्री–विल थ्योरी) भनिन्छ । बौद्ध दर्शनको ‘कर्म’ले कस्तो अर्थ राख्छ, त्यसको विवेचना पनि यस आलेखमा गरिन्छ । तर त्यसभन्दा अघि बुद्धले सुनाएका एउटा कथाबाट कर्मको उदाहरण पेश गर्दछु ।

हुन त बौद्ध धर्ममा कर्मशीलताको प्रवर्धन गर्ने भरपुर कथाहरू छन् । यहाँ उदाहरणको लागि महाजनक जातकको कथा छोटकरीमा प्रस्तुत गर्दछु । महाजनक जातक अत्यन्त गहकिलो कथा हो । थाइलैण्डका स्व. राजा भूमिबल अतुल्यतेजले यसै जातकमा झण्डै बीस वर्ष अनुसन्धान गरेका थिए । अन्ततः सन् १९९७ मा यो कथा प्रकाशित भयो । संयोगवश, त्यही नै साल एशियाका धेरै देशहरूमा अर्थिक संकट देखा प¥यो । अकस्मातको आर्थिक पतनले सबभन्दा पहिला थाइलैण्ड नै आक्रान्त बनेको थियो । त्यसबेला महाजनककै कथाले देशवासीमा मनोवैज्ञानिक उपचारको काम गरेको थियो । सो कथाले समस्याको कुनै अन्त्य नदेखिँदा पनि बोधिसत्वले दृढता र धैर्यतापूर्वक पार लाग्न प्रयत्न गरिरहेको कुरा उल्लेख छ । वास्तवमा सो कथाको उत्कर्ष नै त्यही हो ।

यो जातक नेपालसित पनि जोडिएको छ । किनभने यो मिथिलाको कथा हो, मिथिलाका राजाहरूको कथा हो । कथामा विदेह भनी पनि उल्लेख छ । यो धेरै लामो र रोचक कथा हो । यहाँ सान्दर्भिक छोटा प्रसंग मात्र उल्लेख गर्दछु ।

महाजनक जातक

एकसमय मिथिला राज्यमा महाजनक राजा थिए । उनका दुइ छोरा थिए । दुइ छोराहरूमा असझदारीको कारणले युद्ध हुन्छ र त्यसमा भाइद्वारा दाजु मारिन्छन् । मारिएका दाजुकी श्रीमती गर्भवती थिइन् । युद्धमा आफ्नो श्रीमानको मृत्यु भएको थाहा पाएपछि उनी अनेकौं मूल्यवान रत्नहरू लिई मिथिलाबाट भाग्छिन् । उनी चम्पानगरको एक ब्राम्हणको आश्रममा आश्रय लिनपुग्छिन् ।

समय पुगेपछि रानीले छोरा जन्माइन् । उनको नाम हजुरबुबासित मिल्ने गरी महाजनक भनेरै राखियो । महाजनक ठूलो भएपछि आफ्नो बुबाको गुमेको राज्य लिन तम्सिन्छन् । तर त्यसको लागि त युद्ध गर्नुपर्छ । अनि युद्धको लागि धन आवश्यक हुन्छ । त्यसैले महाजनकले पानीजहाजबाट सुवर्णभूमि गएर व्यापार गर्ने व्यापारीहरू साथ लागेर जाने योजना बनाउँछन् ।

एक पटक पढ्नुहोस