काभ्रे । काभ्रे जिल्लाको ऐतिहासिक नगर बनेपामा करिव दुई हजार पाँच सय बर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा बर्षेनी चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने गरिन्छ ।
यस बर्ष बनेपामा आज जेठ दश गतेदेखि चण्डेश्वरी जात्रा सुरु भएको छ । बैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ । प्रत्येक बर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिंगारिएको छ । तीन दिनसम्म मानिने उक्त जात्राका क्रममा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा नेपालीको महान् चाड दशैँ जस्तै लाग्ने गर्दछ ।
जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बुढापाकाले टोलटोलमा बसी विहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजागर्न टाढादेखि भक्तजन आउने स्थानीय बृद्ध राजचन्द्र श्रेष्ठले जानकारी दिए । जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास लिने गरेको उनले बताए ।
जात्रामा विशेषगरी युवायुवतीको सहभागीता निकै उत्साहमय देखिन्छ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजागर्ने व्यक्तिको सहभागीता रहनुले पनि यसको महत्वले अझ व्यापकता पाएकोमा बनेपाली गर्व गर्छन् ।
जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै बजारको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप उर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।
पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउछन् । जात्राको सुरुदेखि नै ठाउँठाउँमा बली दिइन्छ ।
रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन रहेको उनले जानकारी दिए । यस्तै तेस्रो दिन अपरान्ह मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।
बनेपा नगर कार्यालयले बर्षेनी जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका संघ–संस्था तथा विद्यालय जात्रा अवधीभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाँई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।
यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा)सम्म पुगेर बिसर्जन गर्ने प्रचलन पनि रहेको छ । जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलिदिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ (प्रसाद) प्रदान गरिँदै आइन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ ।
चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । धार्मिक कथन एवं किंवदन्ती अनुसार करिव २५ सय वर्ष अगाडि अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए ।
त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पंछीको रुपधारण गरी उक्त वनबाटै अलप भए ।
चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप बृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भई चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेवरी माइको जात्रा मनाइँदै आइएको जनविश्वास छ ।