महामारीको बेला तीज

कविता

रातो साडी पनि दराज तिरकै लगाऊँ यसपालि त।
मास्कले नै नाकमुख छोप्नु पर्‍यो चाहिँदैन है लाली त ।।
नजाऊँ माइत नबोलाऊँ साथीभाई घरमै बसी मान्ने हो।
जोगिन्छ संस्कृति यसो गरे पनि बुझौं सबै जान्ने हो ।।

नारीको लागि अति खुसीको दिन दरखाने नि हो अरे।
मनाऔं चाडपर्व जोगाऔं संस्कृति सहज रूपैले गरे ।।
मात्र एकदिन मनाउने यो चाड थाले थियौं महिना भरि।
होडबाजी गर्दै लुगा र गहना लाउने असाध्यै गरी ।।

किन्नै पर्ने अरे ऋण गरी पनि देखासिखी काममा।
मिटरे ब्याजमा लिएर धन त्यो चाडपर्व को नाममा।।
दशक दुई जति बितिरथ्यो यहाँ यस्तै प्रकार ले गरी।
थाम्ने हो कसरी भनेर मन त हुँदै थियो थर-थरि।।

खुसी थिए हुने त नहुनेहरू त पीडा र मर्का महा।
सारै कष्ट थियो एकमात्र नभई सारा दुनियाँ जहाँ।।
यस्तै थियो हुन त तथापि खुसी नै मान्दै आएका थियौं।
यसपालि महामारी आयो यी कुरा घरमै बसी सम्झियौं।।

बाँचियो भने त आउने वर्षमा मनाउला भेटघाट गरी।
खुसीले नाचौंला तीजका गीतमा बजाउला थप्पडी।।
जोगिउँ यसपालि सतर्क रहँदै आफू सुरक्षित हुँदै।
फैलिए यो रोग सर्वस्व हुनेभो कहाँ जानु फेरि रूँदै।।

सन्देश हो एउटा सम्झेर तिजको लेखेकी मैले पनि।
हे सज्जन हरू हो पढी दिनु हवोस् लेखिछु कस्तो भनी।।
सारै कष्ट छ है यो विश्व भरिनै शान्ति कहाँ पो छ र।
नहारौं हिम्मत महान् हौं नेपाली घरैमा खाऊँ दर।

एक पटक पढ्नुहोस