कागजको आत्मकथा

एउटा बडेमानको कोठा छ, कोठामा दुईटा ठूला झ्याल छन्। सिलीङमा एउटा कलेजी रंगको पंखा फनफनी घुमिरहेको छ। पंखाको ठ्याक्कै मुनि एउटा घुम्ने कुर्सीमा लेखक हातमा कलम लिएर केही सोचिरहेको छ। सायद लेखकै होला। जो लेख्छ, त्यो लेखकै त होला नि।

लेखकको टेबल पछाडि भित्तैभरीको एउटा ठूलो बुक र्याक छ। बुक र्याकको आधाभन्दा बढी भाग किताबले भरिएको छ र कोठामा किताबको मिठो बासना फैलिएको छ। लेखक बसेको कुर्सीसँगै एउटा ठूलो टेबल छ। टेबलको ठीक दाहिने छेउमा एउटा ठूलो डस्टबीन छ। डस्टबीनमा केही थान च्यातिएका किताबहरू छन्। ती किताब हेर्दा कसैले त्यस्लाई चबाएर थुकेझै लाग्छ।

लेखकको टेबलमा एउटा हरियो रंगको पेपरवेट छ, पेपरवेटको छेउमा एउटा कालो रंगको आवर ग्लास छ, अनि त्यसकै छेउमा एउटा पेनस्ट्यान्ड छ, जसमा केही थान कलम सजिएका छन्। आवरग्लासकै छेउ, टेबलको मध्य भागमा म लम्पसार परिरहेको छु।

अनि म माथि केही लेख्नलाई लेखक सोचमग्न छ। म पंखाको हावाले मन्द-मन्द हल्लिरहेको छु। मेरो शरीरमा म नउडोस भनेर देब्रे हात राखेर लेखक सोचिरहेको छ। म एउटा खाली सादा कागज लेखकको मुहारमा हेरेर सोचिरहेको छु, आखिर आज के लेख्दैछ त ममाथि यो लेखक? आज बिहानैबाट जिउ कसैले कनाएझै भइरहेको छ।

केही समय अघिसम्म मलाई थाहा थिएन म कागज हुँ भनेर। म आफूलाई कलम भन्ठान्थेँ। अस्ति हो क्यारे एकाएक मेरो शरीरमा कलम कुदेको महशुस भयो अनि थाहा पाएँ, म कलम रहेनछु भनेर। कागज हुनु पनि मरेकै जुनी रहेछ। आफूलाई मन लागेको नलागेको जे पनि जो पनि लेखिदिन्छ, रोकभन्दा पनि रोकिन्नन्।

अस्ति ममाथि कसैले लेख्दैछ भन्ने थाहा पाए पछि मलाई मनमा खुल्दुली भइरहेको छ, आखिर लेख्दैछ त के लेख्दैछ? मलाई पढ्न आउँने भएको भए म मज्जाले पढ्ने थिएँ तर के गर्नु, सबै कागज औँठाछाप हुँदा रहेछन्। अचम्म! मान्छेलाई पढाउँने कागज आफै औँठाछाप।

कहिले धेरै सोचेर थोरै लेख्छ, कहिले थोरै सोचेर धेरै लेख्छ, म अचेल एउटा अनौठो मान्छेको संगतमा परेको छु। उसले लेख्दा त मलाई खासै मतलब लाग्दैन तर कोही बेला लेखेका कुरा एकदम नमज्जासँग कोर्छ, मानौ उ ती लेखिएका शब्दको नामोनिशान मेट्न चाहन्छ, उनीहरूको हत्या गर्न चाहन्छ र यस्तो हुँदा म सोच्छु, आखिर के लेखिएको थियो जसलाई लेखक यति साह्रो घृणा गर्छ?

अनि अर्को कुरा, किन लेखकको गल्तीमा म कोरिनु पर्छ? च्यातिनु पर्छ? के लेखिएको हुन्छ त्यस्तो जो मेटिनु पर्छ? लेखिनै नहुने त्यस्तो के कुरा हुन्छ र संसारमा? अनि जब नमेटी लेख्छ लेखक, म सोच्छु नलेखी नहुने पनि के हुन्छ र त्यस्तो संसारमा? मलाई झनक्क रिस उठ्छ मेरो लेखकसँग तर पनि म चुप बस्छु।

यो लेख् त्यो नलेख् भनेर पनि त भन्न सक्दिनँ म। आफूलाई म मान्छे जस्तै सम्झन्छु,म तिनै मान्छे जस्तो छु जो आफूलाई कलम भन्ठान्छन् तर एउटा कागजझै लेखिदै आएका छन्।

म बेलाबेला सोच्छु, यदि मान्छे कागज भएको भए कस्तो हुने थियो? मान्छेको शरीरमा लेखिएर मेटिने कस्ता कुरा हुन्थे? बिर्सिएका मान्छे? बालापनका सम्झना? आफ्नो औकात? आफूभित्रको आफू? के-के हुन्थे होला? अनि लेख्न लायक कुरा के हुन्थे होला? बनाएका सम्बन्ध? सजाएका सपना? आर्जन गरेको सम्पति? कमाएको इज्जत? खै के हुने थिए? जे हुने थिए त्यो त मानिस कागज भए न थाहा हुन्थ्यो।

म यदि मानिस भएको भए, म यो कुराको राम्रो उत्तर दिन सक्थेँ सायद। अब के लेखिन्छ, के लेखिदैन, यसको उत्तर मान्छे नै जानुन्। म त आफूलाई मान्छे जस्तो मात्र सम्झनु, वास्तविक्ता त मेरो कागजनै हो, जो मान्छेको इच्छा अनुसार पलपल कोरिन्छ।

कहिलेकाही आफूलाई मन नपर्ने कुरा कसैले लेख्दा आफैले आफूलाई च्यातिदिउँझै लाग्छ, कसैको कथा नभनिदिउँझै लाग्छ, आफैलाई यसरी नरूवाउँझै लाग्छ, नदुखेको शरीर नदुखाउँझै लाग्छ। तर फेरि सोच्छु, मलाई त लेखकको टेबलबाट उक्लेर त्यो माथिको बुक र्याकमा इज्जतसाथ बस्नु छ, न कि उसको टेबल छेउको डस्टबीनमा, चबाएर थुकेको कागजझै मर्नु।

त्यसैले त म मेरो लेखकले ममाथि गरेको यस्तो दमन सहेर बसेको छु। आज पनि ऊ मलाई त्यसरी नै लेखिरहेको छ, मलाई मन पर्ने नपर्नै सबै कुराको खिचडी पकाइरहेको छ ममाथि, तर पनि म चुपनै छु। मलाई यो पागलजस्तो लेखकसँग जोरी खोजेर एउटा रफ कागजमा रूपान्तरण हुनु छैन।मलाई त उड्नु छ, त्यसैले चुप छु, बेहोश झै छु। अखिर दुध दिने गाईको लात्ती पनि त सहनै पर्छ।

एक पटक पढ्नुहोस