यही हो नेकपाको लेनिनवादी संगठनात्मक सिद्धान्त !

“यो लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको के हो सर ? यस विषयमा अध्ययन गर्न मन लागेको छ, तपाईसँग कुनै किताबहरु भए पाउँ न ।”

अपरिचित नम्बरबाट आएको फोनमा सामान्य चिनजानपछि एकजना बिद्यार्थी साथीले यस्तो माग राखे । उनको कुरा गराइबाट उनी भर्खर भर्खर संगठनमा आवद्ध हुँदैछन् जस्तो लाग्यो । उनलाई थोरै सल्लाह दिइयो ।

उनले “लेनिनवादी संगठनात्मक सिद्धान्त” भनेपछि एकपटक कार्ल मार्क्सको बैज्ञानिक समाजबाट, लेनिनको संगठनात्मक सिद्धान्त, माओका युद्धका नियमहरुका विषयका प्रशिक्षार्थी भएका दिनहरुको याद आयो । ‘झण्डै दुईतिहाई बहुमतसहित राज्यसत्ताको चावी हातमा लिएर गैरकम्युनिष्ट गतिविधिमा तल्लीन “नेकपा” मा लेनिनवादी संगठनात्मक सिद्धान्त जिउँदै छ त ?’ अनायासै मनमा प्रश्न उब्जियो ।

यद्यपि, पछिल्लो ४८ घण्टामा त्यो “नेकपा” मा नयाँ घटनाक्रम विकास भएजस्तो देखिएको छ । नौ दिनसम्म ३६ को आँकडामा रहेका अध्यक्षद्वयले बिहीवारदेखि सम्वाद सुरु गरेका छन् । यो सम्वादको करीव २४ घण्टा अगाडि ओली कमरेडले पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने दाबी गरेका थिए । भोलिपल्टै दुई अध्यक्षबीच बार्ता हुनु र वार्ता “सकारात्मक रहेको” कुरा सार्वजनिक हुनुले पार्टी विभाजन भई पो हाल्छ कि  भन्ने चिन्तामा रहेका इमानदार कार्यकर्ताहरुलाई झिनो आश पलाएको देखिन्छ ।

केही समयदेखि चुप लागेको त्यो वर्गको कार्यकर्ता हिजोदेखि सामाजिक सञ्जालमा आशावादी कुरा गर्दैछ । तर, “पार्टी फुटे फुटोस्, हाम्रो आम्दानी घट्नुभएन” भन्ने मानसिकताका केही स्वार्थीहरुको छटपटी भने नयाँ घटनाक्रमले अझ थपेको देखिन्छ ।

आशावादी हुने, आक्रोशित हुने, निराश हुने ईमानदार कम्युनिष्ट कार्यकर्ताहरुले जहिले पनि किनारा लाग्नुपर्ने नेपाली कम्युनिष्ट आन्दोलनको पुरानै रोग हो । यसलाई धेरै कोट्याएर काम छैन । इमानदार भइराखेर, पार्टीमा बैचारिक बहस, संगठनात्मक पद्दति, बैधानिक क्रियाकलाप र अनुशासित आचरण मात्रै जपेर केही नहुने निश्कर्ष निकाल्दै कतिले त गुटको पुच्छर समात्न सुरु गरिसकेका छन् । तर, अझै केही यस्ता व्यक्तिहरु छन्, जो नेकपा बिधिसम्मत रुपमा अगाडि बढ्नेछ र साँच्चै जनपक्षीय काम गर्नेछ भन्ने सपना बोकिरहेका छन् ।

खैर, विषयमै प्रवेश गरौं । उहिले उहिले कार्यकर्ताहरुलाई लेनिनवादी संगठनात्मक रटाउँदै हिँड्नेहरुले अहिलेको नेकपाभित्र लागु गरेका छन् कि छैनन् ? चर्चा हुनु जरुरी छ ।

मार्क्सवादको व्यवहारिक कार्यान्वयन गर्नका लागि लेनिनले कम्युनिष्ट पार्टी सञ्चालनको नीति तथा सिद्धान्त प्रतिपादन गरे । आजसम्म त्यसै सिद्धान्तका आधारमा चलेको हरेक कम्युनिष्ट पार्टीको दाबी छ ।

लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ । अहिलेको नेकपा लडाकु त छ, तर लेनिनले परिकल्पना गरेको जस्तो पुँजीवादी सत्ता ढाल्नका लागि वा सर्वहारा वर्गको मुक्तिका लागि होइन, पार्टीभित्रै एकले अर्कालाई समाप्त गर्नका लागि, आफ्ना नातागोताहरुको रक्षाका लागि र भ्रष्टाचारीहरुको संरक्षणका लागि । लेनिनको ‘रचनात्मक’ र ‘क्रान्तिकारी’ शव्दको परिभाषा पनि नेकपाले यस्तै वनाएको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताको व्याख्यासहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनका रुपमा समेत हेर्ने गरिएको पाइन्छ । जनवादी केन्ऽीयताले मुख्यतया ६ कुरालाई इंगित गर्छ, जुन अहिलेको नेकपामा बत्ति बालेर खोज्दा पनि पाइँदैन ।

१. व्यक्ति संगठनको अधीनमा हुन्छ : व्यक्ति संगठनको अधीनमा हुने भनेको संगठित व्यक्तिहरु अर्थात् संगठनका सदस्यहरु, सांगठनिक विधि, पद्दति र संगठनात्मक अनुशासनमा बाँधिएका हुन्छन् भन्ने हो । नेकपाभित्र अहिले रमाइलो बिषय छ । नेकपा आफैमा राजनीतिक संगठन हो वा “गुटहरुको महासंघ” हो भन्ने छुट्याउन गार्‍हो छ । नाम, झण्डा र विधानलाई आधार बनाउने हो भने नेकपा राजनीतिक संगठन नै हो, मान्नु पर्ने हुन्छ, अरु कुराले होइन । संगठन त मानांैला, तर व्यक्ति संगठनको अधीनमा रहेको कुनै लक्षण छैन । आफ्नै पार्टीको नेताहरुलाई सामाजिक सञ्जालमा गाली गर्ने, कमिसनखोर, भ्रष्टहरु, अपराधीहरुसंग साँठगाँठ गर्ने, अनुशासनहीन र अमर्यादित अभिव्यक्तिहरु दिने जस्ता क्रियाकलापहरुमा नेकपाका सदस्यहरु कांग्रेसलाई पनि उछिन्ने तहमा पुगिसकेका छन् ।

हुन त नेकपालाई स्कुलिङ्ग गर्ने, वैचारिक कार्यकर्ता निर्माण गर्ने फुर्सद नै छैन। दुईतिहाईको उन्मादले संगठनात्मक गतिविधिहरु, अनुशासन, बिधि, पद्दति सवै बिर्सिसकेका छन् नेता-कार्यकर्ताहरुले । त्यसैले कमरेड लेनिनले भन्नु भएजस्तो व्यक्ति संगठनको अधीनमा छैन अहिले नेकपामा । बरु व्यक्ति व्यक्तिको अधीनमा छ, व्यक्ति गुटको अधीनमा छ ।

२. अल्पमत बहुमतको अधीनमा हुन्छ : केन्द्रीय कमिटीको बैठक त बस्नै नहुने बनाइएको छ । केन्द्रीय कमिटीमा बहुमत कस्तो हुने, अल्पमत कस्तो हुने भन्ने विषय नै छैन । स्थायी कमिटीको बैठक पनि लगातार स्थगित हुँदै गइरहेको छ । बहुमतले पेल्ने डरले एकलौटी बैठक स्थगित गर्ने कुरा आएका छन् । अहिले नेकपाभित्र अल्पमत बहुमतको अधीनमा हो वा बहुमतचाहिँ अल्पमतको अधीनमा हो भन्ने अन्योल छ । कमिटीलाई बाईपास गरेर जसरी छलफल हुँदैछन्, यो पक्कै पनि लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र पर्दैन ।

३. तल्लो कमिटी माथिल्लो कमिटीको अधीनमा हुन्छ : लेनिनवादी संगठनात्मक सिद्धान्तको मुख्य पाटो संगठन निर्माण गर्नु हो अर्थात् संगठनात्मक संरचना निर्माण गर्नु हो । नेकपाको विधानले गाउँ-टोलसम्म कमिटी निर्माण र सक्रियताको व्यवस्था गरेको छ । तर अहिलेको नेकपामा  “सचिवायल” बाहेकका सवै कमिटीहरु ‘भ्यालुलेस’ छन् । स्थायी कमिटीको त्यो दुर्गति भएर थन्कियो । केन्द्रीय कमिटीदेखि गाउँ/नगर कमिटीहरु कागजमा त दुरुस्तै छन् । तर, भौतिकरुपमा कहाँ छन् भन्ने खोजी गर्नुपर्छ । वडा र त्यो भन्दा तलका कमिटीहरु भने दुर्दशापूर्ण छ । त्यसैले, कुन कमिटी कसको अधीनमा छ भन्ने कुरा नै जानकारी छैन ।

४. पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधीनमा हुन्छन् : जब केन्द्रीय कमिटी नै खोज्नुपर्ने अवस्थामा  रहेकाबेला को कसको मातहत भन्ने त प्रश्नै हुँदैन । केन्द्रीय कमिटीले नियमित सर्कुलर गर्ने, नियमित रुपमा रिपोटिङ्ग गर्न लाउने, नियमितरुपमा बैठक बस्न लाउने हुन्थ्यो भने सायद तलका कमिटीहरु पनि चलायमान हुन्थ्ये होलान् । तर, त्यसो हुन सकेन ।

५ केन्द्रीय समिति महाधिवेशनको अधीनमा हुन्छ : महाधिवेशनले पार्टीको वैचारिक लाइन, विधान, तत्कालिक कार्यक्रम र नयाँ नेतृत्व तय गर्छ । केन्द्रीय कमिटी लगायत मातहतका कमिटीहरुको संगठनात्मक स्वरुप तय गर्छ । विचार र कार्यक्रमको कार्यान्वयनका लागि महाधिवेशनले केन्द्रीय कमिटीलाई निर्देशन गर्छ । महाधिवेशनको निर्देशनभन्दा बाहिर केन्द्रीय कमिटी जान सक्दैन । त्यसैले केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा हुन्छ भनियो ।

नेकपामा अहिले महाधिवेशनको उधारो चर्चा छ । पछिल्लो चर्चा चैत्र मसान्तसम्म महाधिवेशन गर्ने भन्ने छ । अब सवाल यो छ कि पार्टीभित्रको यो गुटबन्दी महाधिवशेनले अन्त्य गर्न सक्ला वा फेरि यसलाई संस्थागत गर्ला ? नेपालका कम्युनिष्ट भनिएका पार्टीहरुको ईतिहास हेर्दा महाधिवेशनले विवादको टुङ्गो लगाएको कमै देखिन्छ । त्यसैले अब हुने महाधिवेशनले पनि गुटबन्दीको अन्त्य गर्ने र केन्द्रीय कमिटीलाई महाधिवेशनको निर्णयको अधीनमा रहने गरी निर्णय गर्न सक्ला भन्ने देखिँदैन ।

६. महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधीनमा हुन्छ : लेनिनवादी संगठनात्मक सिद्धान्तले कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कडा तथा फलामे अनुशासनमा रहने भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो । कम्युनिष्ट पार्टीको सदस्य हुनका लागि पार्टीको नीति तथा कार्यक्रम मान्ने, सदस्य मात्रै बनेर नबसिकन पार्टीको निश्चित संगठन कमिटी बसेर काम गर्नैपर्ने र पार्टीलाई नियमित लेवी तिर्ने व्यक्ति मात्र सदस्य हुन पाउँछ ।

तर, नेकपामा लेवीको कुरा त कता पो हरायो, सदस्यता नवीकरण समेत ठेक्कामा चल्न थालेको छ । यस्ता सदस्यहरुले महाधिवेशनलाई आफ्नो अधिनमा राख्न सक्छन् र ? कम्युनिष्ट के हो भन्ने समेत कुनै चासो नभएका, गैरकम्युनिष्ट पार्टीको सदस्य भएका व्यक्तिहरुलाई रातारात सदस्य बनाएर जिम्मेवारीमा पुर्‍याइएकाहरुले बैचारिक बहस गर्दैनन्, गुटको पुच्छर समात्छन्, कार्यकर्ताहरुलाई मासुभात खुवाउँछन् र ओहदामा पुग्छन् । हविगत यही हो अहिलेको नेकपाको ।

लेनिनवादी संगठनात्मक सिद्धान्तका तीन आधारहरु पनि छन् । ती आधारहरु पनि अहिलेको नेकपाभित्र भेटिँदैनन् । लेनिनले बनाएका आधारहरुमा-

जनवादी केन्द्रीयताः यो लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो सर्त हो । “जनबाद” र “केन्द्रीयता” दुई फरक शब्द छन् । “जनवादविना केन्द्रीयता निरंकुश हुन्छ र केन्द्रीयताबिना जनवाद अराजक हुन्छ” भन्नेमा जोड् दिन्छ जनवादी केन्द्रीयताले ।

छलफलमा जनवाद र कार्यान्वयनमा केन्द्रीयताबिना पार्टी संगठन ठीकरुपमा परिचालित हुँदैन । किनकि केन्द्रीयता पार्टीको अनुशासन पनि हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ, भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग जरुरी हुन्छ । कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त लागु गरिन्छ । तर, अल्पमतको कदर गरिन्छ ।

यो लेनिनवादी कुरा हो । तर, “नेकपावादी” हरुका लागि यो कुरा लागु हुँदैन । व्यक्ति संगठनभन्दा माथि रहेर भइरहेको पछिल्लो अभ्यासले जनवादी केन्द्रीयतालाई लोप बनाइदिएको छ ।

आत्मालोचना र आलोचनाको सिद्धान्तः यो प्रत्येक कमिटीको, प्रत्येक बैठकको अनिवार्य एजेण्डा हो । कमिटीका सदस्यहरुले आˆना कमजोरीको आफैले समीक्षा गरेर बैठकमा राख्ने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ ।

आत्मालोजना गरेपछि फेरि त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता गरिन्छ र बैठकमा विधिसम्मत ढंगले अरुको आलोचना पनि गर्न पाइन्छ । नेता, कार्यकर्ताहरुको कमजोरी आलोचनाको विधिबाट सुधार्न सकिन्छ भन्नेमा यसको जोड छ । आलोचना गर्दा डाहा र प्रतिशोधपूर्ण रुपमा होइन, कमजोरी सुधार्नका लागि उत्प्रेरणा बढाउनमा ध्यान दिनुपर्छ ।

नेता/कार्यकर्ताहरुको आलोचना बैठकमा गर्नुपर्ने र बैठकमा भएका कुराहरुको गोपनीयतामा बिशेष ख्याल गरिन्छ । तर, नेकपामा कसले के बोल्छ, सबै छुट छ । कसैले सामाजिक सञ्जालमा गाली गरोस् कि सडकमै गाली गरोस्, कसैले मातेर सडकै ढलोस् कि माफियाहरुसँग मिलेर कमिसन खावस्, कसैले गम्भीर प्रकृतिका फौजदारी अपराध गरोस् कि बलमिच्याइँ गरोस्, कुनै परवाह हुँदैन कसैलाई । सायद अचेल यो आलोचना/आत्मालोचना बैठकको एजेण्डा नै बन्दैन । गुटले संरक्षण गर्न थालेपछि यस्तै हुँदो रहेछ ।

असल नेता चुन्ने विधि : संगठनात्मक सिद्धान्तको पालना गर्नेमा असल नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादित र सभ्य समाज निर्माण गर्नका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरु चयन हुनुपर्छ भन्ने लेनिनवादी संगठनात्मक सिद्धान्तको मुख्य जोड हो । पार्टी संगठनमा नेतृत्व चयन गर्दा इमान्दारिता, सक्रियता वा निरन्तरता, समर्पित भावना, रचनात्मक क्षमता वा कार्य दक्षता हेर्नुपर्छ भन्छ । तर, अहिलेको नेकपामा त्यो योग्यताले काम लाग्दैन । कोसँग धेरै पैसा छ, कसले धेरै हनुमानगिरी गर्न सक्छ, कसको परिवार ठूलो छ (भोट बढी छ), नातागोता धेरै छन् भन्ने विषयहरु अहिले अनिवार्य योग्यता भएका छन् । कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार जानेको हुनु जरुरी छैन । बरु कसरी कमिसन पाइन्छ, कसरी गुट निर्माण गर्नुपर्छ भन्ने कुरा बुझेको भए उ योग्य भइहाल्छ ।

यही हो अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनात्मक सिद्धान्त !

एक पटक पढ्नुहोस