काठमाडौं : निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्। यो समाचार आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ।
कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर छन्। यही बहाना बनाएर शिक्षा मन्त्रालय यो मामिलाबाट पन्छिने गरेको छ। कतैबाट पनि गुनासो सुनुवाइ नभएपछि बालुवाटारस्थित एक विद्यालयका अभिभावकले राष्ट्रपतिलाई गुहारेका छन्। उनीहरूले सुरुमा मन्त्रालय, काठमाडौं महानगरपालिका, अभिभावक महासंघ, प्रहरीलगायत सात निकायमा उजुरी दिएका थिए। स्कुलले कुन कक्षाका विद्यार्थीसँग कति शुल्क लिइएको भन्ने विवरण खुलाउनुपर्ने माग अभिभावकले गरेका छन्।
ललितपुर धापाखेलस्थित एक विद्यालयले अनलाइनबाट दैनिक दुई घण्टा मात्रै पढाइरहेको छ। शुल्क भने सामान्य अवस्थासरह तिर्न ताकेता गरिरहेको छ। ‘सामान्य अवस्थामा स्कुलमा दैनिक ६ घण्टा पढाइ हुँदा मासिक शुल्क १४ हजार हाराहारी थियो’, एक अभिभावकले भने, ‘अनलाइनबाट दुई घण्टा मात्रै पढाउँदा पनि १४ हजार मागिरहेको छ।’
पूरै शुल्क तिर्न नमान्ने अभिभावक र विद्यालय प्रशासनबीच पटक–पटक छलफलसमेत भयो। कुरा नमिलेपछि केही अभिभावकले शुल्क बुझाए पनि थुप्रैले वैशाखदेखिकै शुल्क तिरेका छैनन्। ‘विद्यार्थी र अभिभावकको अवस्था कस्तो छ भन्ने चासो छैन। स्कुललाई जसरी भए पनि नाफा कमाउने ध्याउन्न मात्रै छ’, ती अभिभावकले भने, ‘शिक्षाको नाममा यति धेरै व्यापार गर्नु उचित होइन।’
