‘रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याउने निर्णय’

६ असोज, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुका लागि सेमेष्टर नलम्ब्याउने निर्णय गरिएको जनाएको छ ।

विश्वविद्यालयले आठौं सेमेष्टर मंसिर महिनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ । सातौं सेमेष्टरको अन्तिम परीक्षा असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म छ । तर, आठौं समेष्टर मंसिर महिनामै सक्ने निर्णय विश्वविद्यालयले गरेको छ । जबकी आठौं सेमेष्टरको पाठ्यक्रममा प्रोजेक्ट वर्क र तीन महिने इन्टर्नसिपसमेत छ ।

सातौं समेटेष्टर कात्तिक ६ गतेसम्म चल्ने र आठौं सेमेष्टर मंसिरमा सक्ने निर्णय गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ क्षेत्रमा कस्ता जनशक्ति उत्पादन गर्ला भन्ने प्रश्न उब्जिएको छ ।

यस्तो प्रश्नका बीच परीक्षा व्यवस्थापन कार्यालय प्रमुख आनन्द प्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भने एक महिनामै सेमेष्टर सक्ने योजना नबनाइएको उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यसभन्दा अगाडि नै विद्यार्थीको सेमेष्टर अपग्रेड गरिसकेको र स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुको लागि सेमेष्टर नलम्बाई निर्धारित शैक्षिक वर्षभित्र परीक्षा सन्चालन गर्न मप विश्वविद्यालयको मिति २०७७ भाद्र २५ गतेको निर्णयअनुसार २०२० डिसेम्बरभित्र विद्यार्थीको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भएकोले उक्त सूचना जारी गरिएको हो ।’

साथै विश्वविद्यालयले कर्णाली प्रदेशको भौगोलिक विकटता र मौलिक तथा रचनात्मक उत्तर लेख्नुपर्ने खालको प्रश्नपत्रको ढाँचा भएकाले परीक्षाको समय अवधि आठ घण्टा तोकिएको जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार इन्जिनियरिङतर्फ सातौं सेमेष्टरको ६० पूर्णाङ्कको अन्तिम परीक्षा बिहान ८ बजेबाट सुरु हुने र अपराह्न ४ बजेभित्र उत्तरपुस्तिका बुझाइसक्नुपर्ने छ । ६० पूर्णाङ्कको सो परीक्षामा १० नम्बरको बहुबस्तुगत प्रश्नसमेत समाबेस हुन्छ ।

यसअघि विश्वविद्यालयले लिएको आन्तरिक परीक्षा भने दुई घण्टाको मात्र थियो ।

विश्वविद्यालयले अहिले आठ-आठ घण्टा परीक्षा समय तोकेर चिट चोर्न अनुकूल बनाइदिएको र प्रयोगात्मक परीक्षा नै नगराई जथाभावी अंक दिएर आठौं सेमेष्टर पनि सकाउने प्रपन्च रचिएको भन्दै नेपाल इन्जिनियर्स एशोसियसनको ध्यानाकर्षणसमेत गराइएको छ ।

तर विश्वविद्यालयले परीक्षाको विश्वसनीयतामा कुनै आँच नआउने जनाएको छ ।

एक पटक पढ्नुहोस