महावीर पुनको दशैं लुगा, क्या रमाइलो हुने भयो यसपालि त

खस्रो-फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो-मुकिलो देखिएनन् । दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब छैन । त्यसैले त कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा गर्छन् । चम्किला टेलिभिजन सेटहरुमा होस् वा भव्य मञ्चहरुमा उनको हुलिया बद्लिदैन, उस्तै हुन्छ ।

किनकी उनलाई आवरणमा चिप्लोचाप्लो देखिनुछैन, बनावटी बन्नुछैन । उनलाई चिरिच्याट्ट परेर लुगा लगाउन आउँदैन । होशियारीसाथ हिँड्नु-डुल्नु आउँदैन । भाँती मिलाएर बोल्न आउँदैन । बान्की मिलाएर नाच्न आउँदैन । उनी त एक कर्मयोगी हुन्, जसलाई काम भन्दा ठूलो केही लाग्दैन ।

अर्थात महावीर पुनलाई ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर उनी त्यसलाई नयाँ–नयाँ खोज, अनुसन्धान र आविष्कारको थलो बनाउन मरिमेटेर लागिपरेका छन् । सोही थलोमा रातदिन खटिन्छन् । बेलामौकामा रमाइलो पनि गर्छन् र सामाजिक सञ्जालमा साझेदार गर्छन् ।

यसपाली उनले यस्तै घतलाग्दा कुरा साझेदार गरेका छन् । आविष्कार केन्द्रको पृष्टभूमीमा उनले केही थान आफ्नो निजी तस्विर पोस्ट गरेका छन् । त्यसमा उनी निख्खर निलो कोट, पाइन्ट, सेतो सर्ट र कालो छालाको जुत्तामा ठाँटिएका देखिन्छन् ।

के तपाईंले महावीर पुनलाई यस्तो आवरणमा कहिल्यै देख्नुभएको थियो ? सधैजसो टाउजर, हाप पाइन्ट र टिसर्टमा देखिने उनी यसपाली भने चिरिच्याट्ट परे । दशैंको पूर्वसन्ध्यामा उनले आफ्नो सुकिलो आवरण पेश गर्दै लेखेका छन्, ‘लौ हेर्नुहोस्, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई ।’

अहिलेको जमानामा नयाँ लुगा लगाउनका लागि दशैं कुरिरहनुपर्ने जरुरत छैन । यद्यपि दशैंको विशेषता नै हो, नयाँ लुगा लगाउने । कुनै बखत त यस्तो पनि थियो, एक आङ लुगा लगाउनका लागि दशैं नै आउनुपर्ने । वर्षदिनमा एकसरो नयाँ लुगामा ठाँटिनु दशैंको आफ्नो मौलिक विशेषता हो । तर, महावीर पुनले वितेका ४५ बर्षसम्मद शैंमा नयाँ कपडा लगाएका रहेनछन् । उनी रमाइलो पारामा लेख्छन्, ‘यो कपडा मलाई नै नापेर सिलाइदिएका हुन् । पुरानो जगेडा होइन । मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो । जुत्ता चाहिँ ६ बर्ष पुरानो ।’

धेरैले आफुलाई पहिरनका बारेमा टिकाटिप्पणी गर्ने गरेका बताएका छन् । साथीभाईले राम्रो कपडा लगाएन भनेर उनलाई ‘कचकच’ गरेका रहेछन् । उनी लेख्छन्, ‘अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस् । आज नयाँ कपडा लगाएर फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें ।’

नयाँ लुगा लगाएपछि उनी अलि रसिक मुडमा आएछन् । लेख्छन्, ‘दशैंको बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला । केही महिनापछि म नै बताउनेछु । क्या रमाइलो हुने भयो यो पालीको दशैं त ।’

खस्रो–फुस्रो देखिने महावीर पुनले विश्व समुदायमाझ उँचो चिनारी बनाएका छन् । भनिहालौं, उनी सन् २००४ का रमन म्यागसेसे पुरस्कारले सम्मानित व्यक्ति हुन् । यसलाई एसियाको नोबेल पुरस्कार भनिन्छ ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नाकोत्तर गरेर आफ्नै थालथलो नांगी फर्किएका उनले गाउँमा एक विद्यालयको स्थापना गरे, हिमाञ्चल उमावि । दुरदराजको उक्त विद्यालयमार्फत उनले कम्प्युटर शिक्षाको अवधारणा अगाडि सारे । विदेशका आफ्ना हितैषीहरुसँग सहयोग माग्दै विद्यालयमा कम्प्युटर ल्याए । साथसाथै गाउँ–गाउँसम्म इन्टरनेटको पहुँच पु¥याउने महत्वकांक्षी योजना पनि अगाडि बढाए । उनको यो योजनालाई बिबिसीले विश्व समुदायमाझ पु¥याइदियो । अन्ततः विदेशी दाताहरुको सहयोगमा नांग र राम्चे आसपासका गाउँहरुमा वायरलेस इन्टरनेट सञ्चालन गर्न संभव भयो । सन् २००३ मा दूरदराजका नांगी गाउँ इन्टरनेटबाट विश्वसँग जोडियो ।

यसैगरी सन् २००७ मा महावीर पुनले अध्ययन गरेको नेब्रास्का विश्वविद्यालय आफ्नो देशका लागि उल्लेखनिय कार्य गरेको भन्दै मानार्थ विद्यावारिधीले सम्मानित गरेको थियो ।

सुरुका वर्षहरुमा भने उनले शिक्षण पेशा अपनाए । १३ बर्षसम्म अस्थायी शिक्षकको रुपमा काम गरेपछि उनी छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका गएका थिए । अमेरिकामा अध्ययन सकाएर उनी आफ्नो जन्मथलो नांगी फर्किए र एउटा सपनाको विजारोपण गरे । आज त्यही सपनाले उनलाई जागा राखेको छ ।

एक पटक पढ्नुहोस