After header

‘कोरोना खोप तत्काल खरिद प्रक्रिया थालौं’

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएका छन् । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरूको भनाइ छ ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा आउने (जनसंख्याको २० प्रतिशतलाई पुग्ने) भनिएको बाहेक अन्य खोप किन्न सरकारले तयारी गरेको छैन । ‘कोभाक्स इमिडिएट सोलुसन होइन,’ जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले भने, ‘सरकारले सबै विकल्प खुला राख्दै खोपको अग्रिम बुकिङ सुरु गर्नुपर्छ ।’ कोभाक्स सुविधाबाट प्राप्त हुने खोप पनि एकै पटक आउने छैन । यो खोप पहिले जनसंख्याको ३ प्रतिशतलाई पुग्ने मात्रामा आउँछ भने चरणबद्घ रूपमा २० प्रतिशत नागरिकलाई खोप दिइन्छ, तर यो खोप कहिलेसम्म आउँछ भन्ने अझै यकिन भएको छैन ।स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कोभाक्स सुविधाबाट प्राप्त हुने भनिएको पहिलो चरणको खोपसमेत २०७८ वैशाखयता आउने छाँट देखिएको छैन । कोभाक्सअन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने खोप सन् २०२१ को डिसेम्बरसम्म आउन सक्ने मन्त्रालयका केही पदाधिकारीको आकलन छ । ‘उत्पादनकर्ता कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरेर खोप किन्ने प्रक्रिया सुरु गर्न धेरै ढिलो भइसकेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘अहिले फास्ट ट्र्याकमा खरिद प्रक्रिया सुरु नगरे केही समयपछि किन्न खोज्दा पनि मुलुक सुहाउँदो खोप सहजै पाउन सकिँदैन ।’

सरकारले कोभाक्सअन्तर्गत पाइने खोपलाई बोनस ठानेर थप खोप खरिदमा तुरुन्त ध्यान दिनुपर्ने उनले बताए । उनका अनुसार छिमेकी मुलुकमा जस्तै नेपालमा पनि डेढदेखि दुई करोड जनसंख्यालाई खोप दिएर यो संक्रमणविरुद्घ स्वास्थ्य सुरक्षा प्रदान गर्न अग्रिम तयारी अत्यावश्यक छ । भारतले आफ्नो ६० प्रतिशत जनसंख्या (८० करोड व्यक्ति) लाई कोभिडविरुद्घको खोप सुनिश्चित गर्न कोरोना खोपको १६० करोड मात्रा ‘प्रि–अर्डर’ दिएको औंल्याउँदै उनले भने, ‘६० प्रतिशत अर्थात् ८० करोड जनसंख्यालाई खोप लगाएर भारत कोभिडविरुद्घ हर्ड इम्युनिटी विकसित गर्ने तयारीमा छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले यही अवस्था हेर्दा सरकारी माध्यमले नेपालमा कोभिडको खोप कम्तीमा ६ महिनायता आउने सम्भावना रहेको बताए । उनी सरकारले कोभिडविरुद्घको खोप किन्ने तयारी गर्नुको विकल्प नरहेको बताए । विश्वमा हर्ड इम्युनिटीका लागि सबैभन्दा बढी खोपको प्रि–अर्डर भारतले दिएको छ, त्यसपछि युरोपियन युनियन, अमेरिका र अन्य देशले दिएका छन् । नेपालमा समेत हर्ड इम्युनिटीमा सुरक्षित हुने माध्यम खोप नै भएको उल्लेख गर्दै डा. तिवारीले भने, ‘हर्ड इम्युनिटीबाट कोरोना जित्न १ करोड ८० लाख नेपालीलाई दुई मात्रा खोप लगाउनुपर्छ ।’

सरकारले ६० प्रतिशत जनसंख्याका लागि खोप किन्दा करिब ५ करोड मात्रा किन्नुपर्ने हुन्छ । ‘खोप लगाउँदा २० देखि ३० प्रतिशत वेस्टेज (नष्ट) हुने भएकाले ३ करोड ६० लाख मात्रा खोप लगाउन करिब ५ करोड मात्रा आवश्यक हुन्छ,’ उनले भने, ‘यति मात्र नभई खोपको प्रभावकारिता, कोल्ड चेन, तोकिएको समयमा खोप उपयोग गर्नुपर्ने आदिसमेत हेर्नुपर्छ ।’ विज्ञहरूका अनुसार २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपको व्यवस्थापन गर्न मुलुकमा सहज हुन्छ ।

एक पटक पढ्नुहोस