जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीहरुको व्यक्तिगत मेल तथा ह्वाट्स एपमा सो स्पष्टीकरण पत्र पठाइएको जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई उल्टै सात बुँदे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधपनि हालसम्म कसैले जवाफ भने दिएका छैनन् ।
ठाकुरलाई सोधिएको स्पष्टीकरण पत्रमा कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ भने उपेन्द्र यादवलाई सोधिएको पत्रमा अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको छ । अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोध्ने निर्णय जेठ ८ गते नै भएको थियो । पार्टीको विधान धारा ४९ बमोजिम अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको यादव पक्षले जनाएको छ । स्पष्टीकरण सोधिएको मितिदेखि ३ दिनभित्र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गर्ने पत्रमा उल्लेख छ । महन्थ ठाकुरले पनि पार्टी विधानको दफा ४९ बमोजिम नै स्पष्टीकरण सोधेका छन् ।
यस्तो छ यादवले ठाकुरलाई सोधेको नौ बुँदे स्पष्टीकरण
१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको ?
२. पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक वेवास्ता गर्ने, अनुपस्थित हुने र आफ्नो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरित गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको ?
३. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?
४. पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको ?
५. जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमतिको विज्ञप्ति पालना किन नगरेको ?
६. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?
७. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनेर लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको ?
८. विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको ?
९. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ?