वाग्मतीमा स्वच्छ पानी बगाउन नागमती बाँध बनाइने !

काठमाडौँ – वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ । यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।

यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।नारायणहिटीबाट रङ्गशालासम्म बृहत् टुँडिखेल अवधारणा

आर्थिक वर्ष २०७८÷२०७९ मा शहरी पूर्वाधार विकासका लागि रु ४१ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा नारायणहिटी सङ्ग्रहालयबाट दशरथ रङ्गशालासम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कका रूपमा विकास गरिने उल्लेख छ । यसअन्तर्गत भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगैँचा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रङ्गशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

गत वैशाख ११ गते धरहरा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धी गुरुयोजना तयार भएको उल्लेख गर्दै त्यससम्बन्धी वृत्तचित्र पनि सार्वजनिक गर्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा सेन्ट्रल पार्कसम्बन्धी गुरुयोजना तयार भएको हो । यो क्षेत्रलाई एकीकृतरूपमा विकास गर्न गुरुयोजना तयार पारिएको प्राधिकरणले जनाएको छ ।

एक पटक पढ्नुहोस