विष्णुलाल वाइबा : गरीब गुरुवाका नेता

बीएलका नाममा सुपरिचित कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

बिसं २००० साल फागुणमा जन्मनुभएका कमरेड बीएल जनकपुर– सगरमाथाका कम्युनिष्ट आन्दोलनका धरोहर क.जयगोविन्द शाहको वरिपरि हुर्कनुभएको थियो । किसान आन्दोलनको पृष्ठभूमिबाट आउनुभएको विष्णुलालजीको व्यक्तित्वको सामाजिक, राजनैतिक र सांगठनिक पक्षहरु छन् । तीनै क्षेत्रमा आफ्नो भूमिकाका कारण उहाँ सिराहाको एक जनप्रीय नेता हुनुहुन्थ्यो ।

बडहरामालको आधारभूत विद्यालयमा प्रधानाध्यापक हुनुभएका उहाँ कर्जनाहा माबिको व्यवस्थापन समितिको तत्कालीन अध्यक्षसमेत रहुनुभयो ।

१६ वर्षको उमेरमा कम्युनिस्ट आन्दोलनमा लागिपर्नुभएका बीएललाई जयगोविन्दजीले सदस्यता दिनुभएको थियो । जयगोविन्द साहको मूल नेतृत्व अन्तरगत हुने वर्गसंघर्ष, स्वयं सेवा, संगीत मण्डलीदेखि व्यवस्थापन समेतका जिम्मेवारीमा बीएल सहभागी हुनुहुन्थ्यो । ०३६ साल अगाडि चौमको क्षेत्रीय ब्युरो र ०४४ सालमा केन्द्रीय समितिमा पुग्नुभएका वाइबा २०४८ सालको संसदको चुनावमा सिराहा क्षेत्र नं ५ बाट संयुक्त जनमोर्चाका तर्फबाट निर्वाचित हुनुभएको थियो । पछिल्लो समय उहाँ तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य पनि रहनुभएको थियो ।

हरेक मानिसका सबल र दुर्बल दुबै पाटो हुन्छन् । बीएलजीका पनि दुबै पक्ष थिए । उहाँको मुल पक्ष सबलता नै हो । कम्युनिष्ट आन्दोलन र नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने धेरै विषय छन् ।

व्यवहारिक र मिलनसार, अत्यन्तै सादगिपूर्ण जीवन, सिद्धान्तलाई व्यवहारिक रुपमा बुझाउन सक्ने, जनताका पीरमार्का सुन्ने, जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि विचलित नहुने, मजदुर र किसानको दृढ़ हिमायती एक देशभक्त हुनुहुन्थ्यो बीएल । संक्षेपमा भन्दा उहाँ साँच्चै गरीब गुरुवाका नेता हुनुहुन्थ्यो ।

धनुषाका जुझारु एवं लोकप्रिय नेता एवं सहिद कमरेड सूर्यनाथ यादवमाथि राज्य र पार्टीबाट अन्याय भएपछि आवाज उठाउने र उहाँप्रति न्याय दिलाउन भूमिका खेल्ने थुप्रै नेतामध्ये बीएल एक हुनुहुन्न्थ्यो ।

कमरेड बीएलका श्रीमती, दुई छोरी र तीन छोरा हुनुहुन्छ । यतिबेला बस्तिपुर, बडहरामाल, कर्जनहा लगायत सिराहाको त्यो भेग शोकमा डुबेको छ । शोकसन्तप्त परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना । उहाँले देखाउनुभएको बाटोमा अविचलित हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धासुमन हुनेछ । अलबिदा क.बिष्णुलाल वाइबा ।

एक पटक पढ्नुहोस