After header

नेतात्रयले बोलाएको केन्द्रीय सदस्यको भेला किन भयो स्थगित ?

काठमाडौं । नेपाली काँग्रेसका नेतात्रयले आजका पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले कार्यव्यस्तताको कारण देखाउँदै शुक्रबारका लागि बोलाइको केन्द्रीय सदस्यको भेला स्थगित गरेका हुन् ।

असार १५ गते निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा भएको छलफलले शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।

सिंहले भने, ‘तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नुपर्ने भएकाले तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।’

निर्धारित मितिभित्र महाधिवेशन सम्पन्न गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरूलाई निरन्तरता दिँदै जाने सिंहको भनाइ छ ।

एक पटक पढ्नुहोस