जो प्रेममा परेकै छैन, उसैका गीतमा प्रेमपीडा धेरै !

‘छुट्नलाई पो रैछ क्यारे
तिम्रो मेरो यति धेरै माया बसेको
सम्झी सम्झी रुनु छैन पो सानु
खुसीले कुनै पल आँसु खसेको’

करिब एक​ वर्षअगाडि बजार तताएको यो गीत अहिले पनि त्यतिकै लोकप्रिय छ । थानेश्वर गौतमले सङ्गीत दिएको गीतमा थानेश्वर र शान्तिश्रीको स्वर छ । गीत सङ्गीत र स्वरको अलवा शब्दका कारणले समेत चर्चामा रहन सफल रह्यो । गीतकी रचयिता हुन्– प्रभा बर्ताैला ।

गीतकार प्रभाले भर्खर टिनएज पार गरेकी हुन् । यो गीत सुन्ने सबैलाई लाग्नसक्छ स्कुल कलेजको असफल प्रेम उनले गीतमा उतारिन् । तर होइन । गीतमार्फत उनले केवल हजुरबुबाको सम्झना पोखेकी हुन् ।

‘मेरो हजुरबुबाका धेरै नातिनातिना । तर सबैभन्दा धेरै माया मलाई गर्नुहुन्थ्यो,’ प्रभा भावुक हुँदै भनिन्, ‘उहाँको मृत्युपछि उहाँप्रतिको प्रेम मनभित्र उकुसमुकुस भयो । त्यही गीतमा उतारे ।’

प्रभाले भनेझैँ गीत भने हजुरबुबा र नातिनीको प्रेमको रूपमा बाहिर आएको छैन । गीत एक जोडी प्रेमीको कथाका रूपमा आएको छ । प्रश्न उठ्छ, ‘यो कसरी हजुरबुबा र नातिनीको प्रेम ?’ ‘गीतमा मैले हजुरबुबा र नातिनीबीचको प्रेम नै उतारेकी हुँ,’ उनले भनिन्, ‘प्रेमीप्रेमीकाका रूपमा व्यक्त गर्दा समाजमा बढी प्रभावकारी हुन्छ भन्ने लाग्यो ।’ गीत सबैले रुचाउन भनेर युगलप्रेम कथाका रूपमा ल्याएको प्रभाले सुनाइन् । उनले थपिन् ‘कोहीसँग छुटिनु भनेको समय र बाध्यता हो । गीतसङ्गीत सिर्जना गर्नेले सबैलाई मिल्ने हिसाबले सोच्नुपर्छ । प्रेमीप्रेमीकाका रूपमा ल्याएको गीतले धेरैको प्रतिनिधित्व गर्छ ।’

प्रभा पछिल्लो समयकी चर्चित गीतकार हुन् । उनका ‘हिमाल हल्लाउन सक्छु’, ‘फुर्के धागो’, ‘नाचिन्छ, गाइन्छ’, ‘धानको चुली मकैको सुली’, ‘गरौँ रमाइलो’ लगायत थुप्रै लोकप्रिय छन् ।

गीत लेखनको पहिलो पाइला

प्रभा व्यावसायिक रूपमा २०७२ देखि लेखनमा होमिएकी हुन् । उनको लेखनको यो पहिलो पाइला भने होइन । उनी पहिलेदेखि नै साहित्यका गजल, कविता र मुक्तक विधामा कलम चलाउँदै आएकी थिइन् । जब चार कक्षा पढ्दा उनले एक बालकविता लेखेर पहिलो पुरस्कार हात पारिन् । त्यो समयदेखि उनको साहित्य यात्रा सुरु भएको थियो । साहित्यमा उनको रुचि निबन्ध, कथा, कविता थियो ।

१२ पास गरेर जब उनी ब्याचलर र मास्टरका लागि चितवनबाट काठमाडौँ छिरिन् अनि पढाइका लागि साहित्य साइडमा राखेर अगाडि बढ्दै थिइन् । यस्तैमा उनको कानमा गायक तथा सङ्गीतकार थानेश्वर गौतमको गीत ‘गाजल लगाइनछ्यौ’ पर्यो । लोकशैलीमा बनेको यो गजलमा नाच्न पनि सकिन्थ्यो । गजलमा पनि नाच्न सकिने ! उनी आश्चार्यमा परिन् ।

‘यो शैलीको गजल मलाई अनौठो लाग्यो । गजल सङ्गीतमा नयाँ प्रयोग भएको देख्दा म दङ्ग भएँ’ लेखनको टर्निङ प्वाइन्टको विषयमा उनले भनिन्, ‘यो गजलका सङ्गीतकार गायक थानेश्वरसँग भेटेँ र उहाँकै सहकार्यमा यो क्षेत्रमा होमिएर पहिलो गीत ल्याएँ ।’

‘छ मसँग सबै छ, छैन तिम्रो अभाव छ

शक्तिन भुल्न तिमी यो मुटुको दबाब छ ।’

थानेश्वरकै सङ्गीत तथा स्वर रहेको क्लासिकल गजल शैलीमा तयार यो गीतको चर्चा राम्रो भयो । रेडियो नेपाललगायत मिडियामा समेत प्रथामिकता पायो । अहिले पनि रेडियो नेपाललगायत विभिन्न एफएममा गीतसङ्गीत सिग्नेचर ट्युन राखेर कार्यक्रम बन्छन् ।

गीत लेखनमा आउनुको अर्काे कारण प्रभा सानैदेखि गीत सुन्थिन् । गीत लेख्ने मानिस कस्तो होला ? उसको सोच कस्तो होला ? लेख्न कस्तो दिमाग चाहिन्छ होला ? त्यसको लवाइखुवाइ कस्तो हुन्छ होला ? यस्ता प्रश्न उनका मनमा थुप्रै उठ्थे ।

‘सबै प्रश्न र खुलदुलीको उत्तर आफ्नो गीत रेडियो बजेपछि मिल्यो,’ प्रभाले खुसी सुनाइन्, ‘त्यो समयदेखि म पनि केही गर्न सक्छु । ममा पनि केही खुबी छ भन्ने महसुस भयो ।’

गीतमा प्रेमपीडा

प्रभाका धेरै गीतमा प्रेमपीडा समेट्छिन् । लाग्छ त्यो उनको भोगाइ हो । त्यसैले उनले यो प्रेमपीडा गहन शब्दका साथ गीतमा उतार्छिन् । तर उनी आफू अहिलेसम्म पनि प्रेममा नपरेको बताउँछिन् ।

‘मेरो प्रेम त परेको छैन । धोका परको कुरो हो’ प्रभा भन्छिन् ‘सर्जकले आफ्नो घटनाभन्दा पनि समाजको प्रतिनिधित्व गर्ने हो ।’ गीतमा आफ्नो व्यक्तिगत जीवनका केही लिङ्क नभएको उनी सुनाउँछिन् । उनका गीतमा नारीका वेदना पनि देख्न सकिन्छ । त्यो पनि उनले समाजको प्रतिनिधित्व गरेकी हुन् ।

किन लेखिन्छ गीत ?

किन लेखिन्छ गीत ? प्रश्नको उत्तर सर्जकअनुसार फरक होला । प्रभा भने आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएकी छन् । मनभित्र उब्जिएका भावना गीतमा उतार्छिन् । गीतका धेरै विधामध्ये गजल कठिन विधा मानिन्छ । उनी यो विधामा समेत कलम चलाउँदै आएकी छन् ।

‘चितवनलाई गजलको एउटा राजधानीका रूपमा चिनिन्छ । म त्यहीँ हुर्किएँ । त्यहाँबाट गजलमा मेरो रुचि बढ्यो,’ उनले रुचिको कारण खोलिन्, ‘त्यो समय गजल धेरै सुन्दा आफू पनि लेख्न सक्छु भन्ने लाग्यो । लेख्न थालेपछि सफल भएँ ।’ गजलकै कारण साहित्यका धेरै विधाको जानकारी हासिल गरेकी उनी अहिले गीत, मुक्तक, कवितालगायत धेरै विधामा कलम चलाउँछिन् ।

हुन त गीत लेखन सहज विषय होइन । पाइरेसीले झन् शब्द चयनमा जटिलता थपेको छ । यो हिसाबले गीतकारमा पे्रसर हुन स्वाभाविक पनि हो । उनी भने गीत लेखनका देखिएको चुनौतीमा इन्ज्योए गर्छिन् रे । ‘जीवनको यथार्थ भोगाइले गीत जीवन्त बन्छ,’ उनी अगाडि भन्छिन्, ‘त्यसमा पाइरेसीको झन्झट छैन ।’ अहिलेसम्म प्रेसर र दबाबमा आफूले कुनै गीत नलेखेको सुनाउँछिन् ।

हिम्मत देखाएँ

नेपाली साहित्यको फाँटमा पुरुषको तुलनामा नारीका उपस्थिति कम रहेको छ । त्यसका धेरै कारणमध्ये एउटा पारिवारिक सपोर्ट हो । अर्काे कुरो साहित्यमा आर्थिक पाटो बलियो नहुनु नै हो । यो उनले पनि बुझेकी छन् । यही कुराले उनलाई साहित्यमा लाग्न झकझक्यायो । ‘मैले अलिकति हिम्मत देखाएँ, आउँने पिढीका लागि सजिलो हुने देखेर साहित्य रोजे,’ उनले भनिन् ।

हाम्रो समाजमा पाका र नाम चलेका गीतकारले राम्रा गीतमा राम्रा शब्द कोर्न सक्छन् भन्ने भ्रम रहेको छ । उनी यो भ्रम तोड्दै कम उमेरका व्यक्तिले पनि उत्कृष्ट गीतका शब्द कोर्न सक्छन् भनेर प्रमाणित गरिन् । ‘मानिसका व्यक्तिगत स्वभाव फरक हुन्छन् । कोहीको जन्मजात लेखनमा रुचि हुन्छ । कोही आफ्नै घटनाबाट प्रभावित भएर लेख्छन्,’ उनले भनिन्, ‘कतिले सानो उमेरमा पनि धेरै कुरो भोगेका, देखेका हुन्छन् ।’ उनले थपिन्, ‘मलाई पनि सानै उमेरमा धेरै देख्ने र सिक्ने अवसर मिल्यो ।’

परिवारको सपोर्ट थिएन

हाम्रो समाजमा साहित्यमा लाग्नेको कमैको मात्र आर्थिक अवस्था मजबुत छ । त्यसैले पनि साहित्यमा लाग्ने कमैले परिवारको साथ पाउने गरेका छन् । प्रभाले सुरुका समय परिवारको साथ पाइन् ।

‘डाक्टर पढ्न केही वर्ष लगानी गर्यो । त्यसपछि प्रतिफल आउन थाल्छ । साहित्य त्यस्तो विधा हो । जसमा वर्षाैंवर्ष लगानी गर्दा पनि बाँच्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘परिवारको चिन्ता छोरी साहित्यमा लागेपछि जीवन निर्वाह गर्न सक्दिनँ कि, भोलि समकक्षीभन्दा तल हुन्छन् कि, आर्थिक रूपमा सम्पन्न हुन्न कि, आफ्नो खुट्टामा उभिन सक्दिनँ कि भन्ने हो । अभिभावकको यो चिन्ता जायज हो ।’

परिवारको साथ नभए पनि साथीभाइको साथ भने उलाई राम्रो रहने गरेको थियो । अझै प्रगति गर्दै जाऊ भनेर हौस्याउँथे । समाजका कतिपयले आफ्नै वास्तविक जीवन गीतसँग मिल्यो, मेरो घटना शब्दमा ल्याइदिनुभयो भनेर उनलाई धन्यवाद दिन्थे । यो कुराले उनलाई थप प्रेरणा मिल्थ्यो । कसैको दिलभित्रको पीडा मैले गीतमा उतार्न सफल भएँ भनेर उनी दङ्ग हुन्थिन् ।

‘साहित्य चाँडो प्रतिफल नआउने विधा होइन भनेर मैले राम्ररी बुझेकी थिएँ । त्यसैले अप्ठ्यारो पनि सहज रूपमा लिँदै अगाडि बढेँ,’ उनले भनिन् ।

परिवारको चिन्ता जे भए पनि निरन्तर साहित्यमा रहने उनको इच्छा छ । यो उनको रुचिको विषय पनि हो । आफूलाई आनन्द जे काममा हुन्छ त्यही रोज्नुपर्छ भनेर आफूले साहित्य रोजेको उनले सुनाइन् ।

गीत गाउने रहर

गीतसङ्गीत क्षेत्र अहिले राम्रो छ । तर गायक गायिकाको जस्तो राम्रो अवस्था गीतकारको अझै हुन सकेको छैन । गायक गायिकाले विभिन्न कार्यक्रममा समेत प्रथामिकता पाउँछन् । गीतकारका लागि त्यस्तो प्लेटफर्म छैन । तैपनि गीत लेखेर राम्रो गर्न सकिन्छ भनेर प्रमाणित गर्न उनी लागिपरेकी छन् । ‘लेखेर बाँच्न मुस्किल होला, असम्भव होइन’ उनले भनिन् ।

अहिले गीत लेखेर मात्र पनि पुग्दैन । त्यसलाई बजारमा ल्याउन सङ्गीत, रेकर्डिङ लगायतका विभिन्न प्रक्रिया छन् । जुन खर्चिलो छ । अहिले गीतकारले गीत ल्याउन लगानी गर्नुपर्ने बाध्यता छ । ‘पहिले मैले मिलेर पनि लगानी गरेँ,’ उनले खुसी सुनाइन्, ‘अहिले गायकगायिकाले यस्ता शब्द चाहियो भन्दा लेखेर दिन्छु । लगानी गर्नुपर्दैन । उल्टै पैसा दिन्छन् ।’

गायकगायिकाले भनेझैँ लेख्नुको अलवा प्रभा अहिले राष्ट्रिय गीत, समाज रूपान्तरण गर्ने, जाँगर ल्याउने, बेथिति विसङ्गतिप्रति प्रहार गरेका गीत पनि लेख्दैछिन् । कतिपय गीतकार समयअनुसार आफूलाई ढालेर भाइरल भएका छन् । आफू छोटो समय रमाउने मानिस नभएको उनी बताउँछिन् । गीतमा सधैँ प्रेम र पीडा व्यक्त गर्ने प्रभा वास्तविक जीवनमा भने रमाइली छिन् । साथीहरूसँग हाँसोठट्ट गर्नुपर्ने उनको बानी छ । अप्ठ्यारो रहेकालाई सहयोग गर्न, पीडितलाई सहानुभूति दिन उनलाई मनपर्छ । लेखनको अलवा जीवन चलाउन एक कम्पनीमा जागिरे उनको जीवनमा एउटा गीत आफ्नै स्वरमा रेकर्ड गर्ने इच्छा छ । हेर्दा कुनै मोडलभन्दा कम छैनन् उनी । ‘मोडलिङमा पनि रुचि छ कि ?’ भन्ने प्रश्नमा जवाफ फर्काइन्, ‘कहिलै रुचि भएन ।’

एक पटक पढ्नुहोस