After header

डाक्टरले दिए एक पेग लिने सल्लाह, त्यही बन्यो अभिनेत्री मीना कुमारीको मृत्युको कारण

ट्रयाजिडी क्विनका रुपमा चर्चित बलिउड अभिनेत्री मीना कुमारीले सफलताको त्यस्तो इतिहास रचिन्, यसको भोक हरेक अभिनेत्रीलाई हुन्छ । तर, यस्तो सफलताका बाबजुद पनि उनको जीवन सुखी थिएन ।

मीना कुमारीको जन्म १ अगस्ट १९३३ मा भएको थियो । उनको वास्तविक नाम महजबीं बानो थियो । अभिनेत्री हुनुका साथै उनी एक चर्चित प्ले ब्याक सिंगर पनि थिइन् ।

बाबुले अनाथालयमा छाडिदिएका थिए
मीनाकुमारी जन्मिएपछि उनका बाबु निकै दुखी भएका थिए । उनलाई एक छोरा चाहिएको थियो । यहीकारण उनले मीनालाई जन्मनासाथ अनाथालयमा लगेर छाडे । तर, जब विछोडका कारण मीनाकी आमाको हालत खराब भयो, तब छोरीलाई फेरि घर फर्काए ।

घरको आर्थिक स्थिती खराब भएकाले सानैदेखि उनले काम गर्नुप¥यो । फिल्ममा काम गर्नुभन्दा पहिले मीनाकुमारीले हिन्दीका धार्मिक शृंखलाहरुमा काम गरिन्, जहाँ उनले प्रायः देवीको भूमिका निभाइन् ।

यसपछि मिनाले फिल्ममा इन्ट्री गरिन् र सिनेमा जगतमा इतिहास बनाइन् । मिना ती अभिनेत्रीहरुमध्ये एक थिइन्, जसलाई पार्टी गर्न मन थिएन ।

केवल १९ वर्षमा विवाह
मीनाकुमारीले प्रेम विवाह गरिन्, तर लामो समय टिकेन । तमाशा फिल्मका दौरान मिनाकुमारीको भेट चर्चित निर्देशक कमाल अमरोहीसँग भएको थियो, यसपछि अमरोहीले मीनालाई फिल्म ‘अनारकली’ अफर गरे ।

फिल्म सुटिङ सुरु हुनअघि नै मीना सडक दुर्घटनामा परिन् । जब अमरोहीलाई यसको सुचना मिल्यो, तब उनी मीनासँग भेट्नका लागि अस्पताल पुगे र सम्बन्धको सुरुवात यहींबाट भयो ।

अमरोही र मीनाले एकअर्कालाई पत्र लेख्न थाले, उनीहरुबीच फोनमा पनि लामो कुराकानी हुन थाल्यो । अमरोहीको प्रेममा निकै डुबेकी मीनाले १९ वर्षको उमेरमै बिहे गरिन् ।
यस समय अमरोही ३४ वर्षका थिए र यसभन्दा पहिले नै विवाहित थिए । उनका तीन सन्तान समेत थिए । यसका बाजबुद मीनाले गोप्य ढंगले अमरोहीसँग बिहे गरिन् ।

जब मीनाका पितालाई यसको जानकारी भयो , तब उनले अमरोहीसँग सम्बन्ध–विच्छेद गर्न दबाब दिए । तर, मीनाले पिताको कुरालाई मानिनन् ।

यसपछि मीनाका पिताले घर छाड्न भने । मीनाले पतिका लागि बाबुको घर पनि छाडिन् ।
बिहेपछि पनि मीनाले फिल्ममा काम गरिरहिन् । उनी सुपरस्टार बनिन् । यो कुरा अमरोहीलाई मन परिरहेको थिएन । आफ्नी पत्नीले फिल्ममा काम नगरोस् भन्ने उनको चाहना थियो ।

मीनालाई उनले धेरै कडाई गर्न थाले । उनले साँझ ६ः३० सम्म काम सकेर घर आउन भन्थें । त्यसैगरी सुटिङका दौरान मीनाको मेकअप रुममा कोही पूरुष उपस्थित हुन नहुने उनको शर्त थियो । मीनाले आफ्ना पतिका यी शर्तहरु मानिरहेकी थिइन् । तर, यसका बाबजुद उनीहरुको सम्बन्ध लामो टिक्न सकेन र सम्बन्ध–विच्छेद भयो । भनिन्छ, एकपटक गुल्जार मीनाको मेकअप रुममा छिरेका थिए र यहीकारण उनको वैवाहिक जीवन टुट्यो ।

निद्राको औषधी
तनावका कारण मीनाले निद्राको औषधी सेवन गर्थिंन् । पुस्तक ‘मीना कुमारी ः द क्लासिक बायोग्राफी’ मा उल्लेख भएअनुसार मीनालाई उनका डाक्टरले निद्राको औषधीको साटो दैनिक एक पेग ब्रान्ड लिन सल्लाह दिए ।

बिस्तारै मीनालाई ब्रान्डीको लत नै लाग्यो र रक्सीकै लतका कारण ३१ मार्च १९७२ मा उनको ज्यान गयो । यतिबेला मीनाकुमारीको उमेर केवल ३८ वर्ष थियो ।

एक पटक पढ्नुहोस