After header

हिमाली बस्तीमा चुनाव प्रचारका लागि नेता-कार्यकर्ताको दौडधुप

धादिङ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू आ-आफ्नो समूह बनाएर प्रचारमा लागेका छन् । भ्रातृसंगठनहरू क्रियाशील भएका छन् भने युवाहरूलाई गाउँबस्ती, टोलटोल, घरघरमा खटाएका छन् । मतदातालाई आफ्नो पक्षमा बनाउन नौलो प्रचार शैली तथा विधिहरू अपनाउन थालेका छन् ।

भौगोलिक हिसाबले टाढा रहेको रुविभ्याली गाउँपालिकाका एक बस्तीबाट अर्को बस्ती पुग्न दिनै बित्छ । यस्ता बस्तीहरूमा चुनाव प्रचारमा अगुवा नेतामात्रै होइन‚ एउटा गाउँका सबै मिलेर अर्काे गाउँ पुग्ने गरेका छन् ।

नेकपा एमालेसँगको विद्रोहपछि बनेको नेकपा एकीकृत समाजवादीले एक वडाबाट अर्काे वडा जाने नौलो अभियान चलाएको हो । दृष्य हेर्दा लाग्छ मतदान हुने दिन आउन केही दिनमात्रै बाँकी छ । एउटा चुचुरो काटेर अर्काे बस्ती पुगेका नेता कार्यकर्तालाई स्थानीयहरूले पनि राम्रै आश्वासन दिने रहेछन् । काँधमा झण्डा बोकेर चुनावी प्रचारमा पुगेका मेन घलेलाई रुविभ्याली–३ अल्यानटोलका एकजना मतदाताले भने‚ ‘ढुक्क हुनुहोस् हामी साथमा छौं ।’

विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले चुनाव प्रचारको अभियानमा आफ्ना दलबलसहित सेर्तुङ पुगेका छन् । प्रचारमा अगुवा नेतामात्रै होइन‚ एउटा गाउँका सबै मिलेर अर्काे गाउँ पुग्ने गरेका छन् । रुवीभ्याली–१ र २ का नेकपा एस निकट मतदातासमेत करिब ४ घण्टा पैदल हिँडेर रुविभ्याली–३ को सेर्तुङमा प्रचार गर्न पुगेका हुन् । चर्को घाममा असिनपसिन भएका नेता कार्यकर्ताहरू एकजुट हुँदै चुनावी प्रचारमा खटिएका हुन् ।

एक पटक पढ्नुहोस