रामेछाप, दोरम्बा — जहाँ जुन बिन्दुबाट ‘मानवताविरुद्धको अपराध’ भनेर चिनिएको दोरम्बा काण्डको सुरुवात हुन्छ, त्यही घरको धारा डिलमा बसेर सुन्तली मोक्तान आफ्ना बलिन्द्र आँसु पुछिरहेकी थिइन् । ‘मेरो आँखा ठीक छैन बाबु, त्यो कुरा गर्यो कि आँसु आउँछ’ भन्दै आँखालाई दोष दिइरहेकी थिइन् उनी ।
तर, हृदयको घाउ जति लुकाए नि लुक्दैन, यही घरबाट उनका श्रीमान् युवराज र छोरा लीला मोक्तानसहित १९ जनाको टोलीलाई नेपाली सेनाले कब्जामा लिएको थियो । २०६० साउन ३२ को बिहान ११ः३० तिर सेनाको कब्जामा परेपछि घरबाट मास्तिर उकालो हुँदै जंगल छेवैको बाटोबाट कतै लगिँदै गरेका श्रीमान् र छोरालाई सुन्तलीले आँगन डिलबाट धमिलो आकृतिमा देखेकी थिइन्, उनी भर्खरै जंगलबाट घाँसको भारी लिएर घर सिकुवामा पाइलो टेक्दै थिइन् । साउने झरी, हुस्सु–कुहिरोका माझ ओसिलो बिहानमा सुन्तली भने बाख्रालाई घाँसपानी गर्नैमा लागिन्, मनमा सन्त्रास पालेरै भए पनि । ‘केही कतै बिघ्नबाधा नआइदेओस्’ भनेर प्रार्थना गरिरहेकै बेला दिउँसो २:३० तिर सुनिएको लगातार गोली चलेको आवाज र लगत्तै गाउँलेले दिएको सूचनामा युवराज, लीलासहितका १९ जनालाई नेपाली सेनाले एकै चिहान बनाइसकेको रहेछ– माथि डाँडाकटेरी फेदीको अक्करमा ।
‘बात लगाइएजस्तो हामी माओवादी पनि थिएन । मेरो बूढा पल्लो गाउँको प्राथमिक स्कुलमा पढाउँथे, पार्टीको काममा कहिल्यै थिएनन्,’ सुन्तलीले सम्झेजति सुनाइरहिन्, ‘हामीले माओवादीलाई घरमा बास दिएको नि थिएन, अघिल्लो साँझदेखि जबर्जस्ती उनीहरू आफैं बस्न आएका थिए । घरमा म र दुई छोराछोरी मात्रै थियौं, बूढो पनि स्कुलको काममा काठमाडौं गएका थिए । उनी त त्यही घटनाको बिहान ९:३० मा मात्रै काठमाडौंबाट घर फिरेका थिए, त्यही पनि झाडापखालाबाट थलिएर ।’
घरमा भएकी सानी छोरी स्कुल गइसकेकी थिइन्, जेठो २० वर्षे छोरा लीलालाई लिएर सुन्तली घाँसदाउरा गर्न जंगल निस्किएकी थिइन् । तर, जंगलबाट फर्केर घरआँगनमा पाइलो टेक्नासाथै सेनाले आफूसँगै रहेको छोरा लीलालाई पनि घँचेट्दै ‘तँ पनि सँगै हिँड्’ भनेर लिएर गएको र बाबुछोरा कहिल्यै घर नफिरेको बयान सुनाइरहँदा सुन्तली फेरि भक्कानिएकी थिइन् ।
तत्कालीन दोरम्बा गाविसको वडा–२ मा बस्ने अर्का छिमेकी थिए- ठूलोराम र सानोराम तामाङ (रामबहादुर दाजुभाइ) । यी दाजुभाइ पनि सेनाले पक्रेर लगेका १९ जनाको हूलमा थिए, निहत्था यिनलाई पनि पछाडि लगेर दुवै हात बाँधिएकै अवस्थामा डाँडाकटेरी पुर्याइएको थियो । उनीहरू पनि त्यहींको एउटै चिहानमा मिसिएका थिए । यी दाजुभाइका श्रीमतीहरू म्हेन्दु र मायादेवी पनि दोरम्बाको पुरानै घरआँगनमा भेटिए । भर्खरै ब्याएका बाख्राका पाठापाठीलाई दानापानी ख्वाउँदै गरेका बेला भेटिएका यी दुवै पनि सुरुमा ‘भो, पुराना कुरा नगरौं’ भनिरहेका थिए । बाख्रापाठाको उन्नत जातको कुरा सुरु गर्दै गाउँमा भएको विकास र परिवर्तनको बुँदामा पुगेपछि मात्रै उनीहरू बोल्न तयार भए ।
‘यहीको सरकारी स्कुलको अध्यक्ष थियो ठूलाराम । सानाराम (देवर) भने जनमोर्चामा थियो, माओवादी होइन,’ ठूलारामकी श्रीमती म्हेन्दुले सुनाइन्, ‘हामी त आफ्नै खेतबारीमा, गरिखाने उपायमा हुन्थ्यौं । केटाकेटी पनि ससानै थिए । फेरि अब युद्ध सकियो, शान्तिको कुरा सुरु भइसक्यो भन्ने बेलामा डाँडाकटेरीमा लगेर मेरो श्रीमान्, देवर सानुराम, पर्तिर युवराज सरसहित १९ जनालाई सेनाले मारेको खबर पायौं । अनि त हामी पनि भागेरै हिँड्यौं, ज्यान जोगाउन माथि जंगलमा पनि रात बितायौं ।’
सानुरामकी श्रीमती मायादेवी अझै पनि ‘पुराना कुरा बिर्सनै ठीक होला’ भनिरहेकी थिइन् । ‘सम्झने हो भने यो त मुटुको कुरा हो, मुटुको घाउ किन पो कोट्याउने ? समाधान गर्ने कोही देखेन, अहिले त कोहीसँग बोलचाल पनि हुँदैन,’ उनले संक्षेपमै गहिरो बोलिन्, ‘यसरी सोध्ने, फोटो खिच्ने भनेर ठूला नेतादेखि पत्रकारसम्म आइरहन्छन् । तर, आफ्नो व्यथा आफैंसँग रहन्छ नि ।’
अहिले केही बाख्राबस्तु पालेर र थोरै खेतीपाती गरेर म्हेन्दु–मायादेवी आफ्नो गुजारा चलाइरहेका छन् । दुवैले पाउने एकल महिला भत्ताको खर्चले पनि केही भरथेग गरेको रहेछ । ‘द्वन्द्वमा मारिएका सहिदको परिवार भनेर जनही १० लाख रुपैयाँ सरकारले दिएको थियो, हामीले यही घर बनायौं । रिनपान तिर्यौं,’ म्हेन्दुले सुनाइन्, ‘अरूतिरको सहयोग भने केही पनि छैन, सबै मुखकै मीठो मात्रै बोल्छन् ।’
हापुरे वार्ताको ‘भरोसा’
२०५२ देखि चलेको सशस्त्र द्वन्द्वका कारण गाउँघरमा आपसी अविश्वास र आशंकाको माहोल हुर्किरहेका बेला २०६० साउन २७ देखि सुरु भएको सरकार–माओवादी शान्तिवार्ताले केही राहत दिलाएको थियो । सेना र माओवादी आफ्नो आधार इलाकाबाट ५ किलोमिटरभन्दा टाढा नजाने सर्त मान्य बनिरहेकै बेला एकाएक दोरम्बा–काण्ड मच्चिएको थियो । साउन ३२ मा दाङको हापुरेमा शान्तिवार्ता चलिरहेकै बेला दोरम्बा काण्डले माहोल बिगारेपछि त्यो वार्ता बिथोलिएको थियो, युद्धविराम भंग भएको थियो ।
‘यस्तै दुर्घटना भइहाल्छ कि भनेर माओवादी पक्ष पनि सचेत त थियो, तर यसरी निहत्था जनसाधारणलाई घेरा हालेर नेपाली सेनाले शान्तिवार्ता चलेकै बेलामा एकै चिहान बनाउला भन्ने सोचिएको थिएन,’ तत्कालीन माओवादी दस्ताका बिग्रेडियर कमान्डर (सोलु–ओखलढुंगा) एवं हाल दोरम्बा–शैलुङ गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले ती दिन सम्झेर सुनाए, ‘तर, त्यत्रो घटनाका बारेमा पछि गएर सत्य निरूपण पनि हुन सकेन, दोरम्बालाई सधैं द्वन्द्व र आतंकको प्रतीकका रूपमा चिनाइने काम भयो ।’ पछि माओवादी नेतृत्वको सरकारले, दोरम्बा घटनामा परेका मृतकका परिवारलाई जनही १० लाख दिनेबाहेक न्यायिक तहमा खासै काम नभएको उनले सुनाए ।
यसबाहेक, दोरम्बा काण्डमा ज्यान गुमाउनेको स्मृतिमा डाँडाकटेरीमा २१ जनाकै सालिक बनाएर सहिद पार्क जस्तो बनाइएको छ । दोरम्बा बजार नजिकै सानुराम–ठूलोरामको घर नजिकैको मार्गलाई नामकरण गरिएको छ– सहिद रामपथ मार्ग ।
‘के गर्नु त्यो ढुंगाको मूर्ति हेरेर ? आफ्नो बूढो, छोरो बोल्न आउने होइन,’ शिक्षक युवराजकी श्रीमती सुन्तली मनमा गढेर बसेको घाउ उप्किएसरी भन्दै थिइन्, ‘म त त्यो सालिक बनेको ठाउँ हेर्न पनि गएकी छैन । सेनाले युवराजसहितलाई मारेपछिको अर्को हप्तातिर (भदौ ११) मा ती गाडिएका लास निकाल्ने, धोइपखाली गर्ने र ठूलो रिपोर्ट लेख्ने टोली काठमाडौंबाट आएको थियो रे भन्ने सुनेकी हुँ, त्यसले पनि के काम गर्यो कहिल्यै थाहा पाइनँ ।’ तर, अलिक पर्तिर बस्ने ठूलोराम–सानारामका श्रीमती र छोराछोरी भने आफन्तको स्मृतिमा हरेक वर्ष साउन ३२ मा धुपबाती गर्न डाँडाकटेरी जाने रहेछन् ।
मानव अधिकारको ‘स्थलगत छानबिन’
राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्को दबाबपछि सुरु भएको युद्धविराम पाँच दिनमै भंग हुने स्थितिमा थियो– साउन ३२ को दोरम्बा काण्डका कारण । नभन्दै दोरम्बा काण्डको गैरन्यायिक र मानवताविरुद्धको गम्भीर अपराधको आधारमा उभिएर माओवादीले भदौ १० बाट युद्धविराम भंग गरेको अघिल्लो दिन राष्ट्रिय मानवअधिकार आयोगले दोरम्बा घटनालाई लिएर अनुसन्धान समिति बनाएको थियो– पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा । यसमा पूर्वमहान्यायाधिवक्ता प्रेमबहादुर विष्ट, पत्रकार कनकमणि दीक्षित, डा. हरिहर वस्ती र हरि फुयाल सदस्य तोकिएका थिए । समितिले भदौ १० गते दोरम्बाको घटनास्थल, मृतकको घरपरिवार र आसपासमा गरेको स्थलगत अध्ययन तथा तस्बिर–प्रमाणसहितको प्रतिवेदनले अन्तर्राष्ट्रिय तहमै स्याबासी पाएको थियो । तर, आयोगका कामु सचिव मुरारी खरेलले दोरम्बा काण्डको प्रतिवेदन आयोगले अझै पनि औपचारिक रूपमा सार्वजनिक नगरेको प्रतिक्रिया आइतबार मात्रै दिएका छन् ।
साउन ३२ मा सेनाले रामेछापको डाँडाकटेरीमा लगेर १९ सर्वसाधारणलाई एकै चिहान बनाएको दुई दिनपछि माओवादी पक्षले सबै मृतकलाई खाल्डो खनेर गाडेको थियो । त्यसमा रामेछाप जिल्ला माओवादी जनसरकार प्रमुख बाबुराम तामाङसहित केही माओवादी, केही जनमोर्चाका समर्थक थिए । र, केही भने शिक्षक युवराज र उनको छोरा लीलाजस्तो सर्वसाधारणसमेत परेका भेटिए ।
मानवअधिकार आयोगको छानबिन टोली घटनास्थल पुगेपछि भदौ १० को अपराह्नमा डाँडाकटेरी पुगेपछि सबै शवको उत्खनन गरेर र माटो धोइपखालीसहित पहिचान गरेर त्यसमा लागेको गोली तथा चोटको अवलोकन गरिएको थियो । प्रतिवेदनअनुसार, भेटिएका शवमध्ये १५ वटामा टाउकोमा गहिरो चोट लागेको थियो, कतिको गोली वारपार भएको देखिन्थ्यो । तीमध्ये १० वटा शवमा गोली अगाडिबाट, २ मा पछाडिबाट र अरूमा साइडबाट गोली लागेको देखिन्थ्यो । यी १९ जनाबाहेक स्थानीय टेकबहादुर थापा मगरको शिक्षक युवराजकै घर छेवैको कान्लामा गोली हानेर हत्या गरिएको पाइयो भने मारिएकी उषा नामकी अर्की युवतीको स्पष्ट पहिचान खुलाउन आयोग प्रतिवेदनले पनि सकेको छैन । तर, उषा सिन्धुपाल्चोककी चमेली थामी रहेको पछि खुलेको थियो । मारिएकामध्ये रामेछाप डडुवा–५ का चतुरमान थामीको अन्तिम संस्कार भने उनका आफन्तले गर्न चाहेकाले त्यसअघि नै शव गाडिएको ठाउँबाट झिकेर लगिएको थियो ।
‘एउटा संवैधानिक निकायले विषम परिस्थितिमा निर्धक्कसँग काम गरेको प्रमाण हो– दोरम्बा छानबिन । नेपालको मानवअधिकार उल्लंघनमा विद्रोही पक्ष मात्रै छैन, राज्यकै अंग सेनासमेत उत्तिकै जिम्मेवार छ भन्ने दृष्टान्त यो प्रतिवेदनले दिएको छ,’ समितिका सदस्य दीक्षित भन्छन्, ‘दोरम्बाको घटना जति नै ढिलो भए पनि अनुसन्धान भएर जवाफदेही र सही सजाय दिनु सेनाका लागि पनि अति उत्तम हुनेछ । किनभने अन्तर्राष्ट्रिय तवरमा नेपालको सेनामाथि द्वन्द्वकाल ज्यादतीको दाग लागेको छ । यो दाग मेटाउने एउटै उपाय छ- संक्रमणकालीन न्यायको सही बैठान ।’ दीक्षितका बुझाइमा, नेपाली सेनाको अन्तर्राष्ट्रिय मञ्चमा छवि र उपस्थिति राम्रो भए पनि ‘नेतृत्वदायी जिम्मेवारी’ (कमान्ड) भने कमजोर छ । यसमा पनि कारण यही छ, यो त द्वन्द्वकालमा ज्यादती गरेको सेना भनेर अनौपचारिक ‘लबिइङ’ पनि उत्तिकै भइरहेकै छ ।
दोरम्बा काण्डपछि फेरि सुरु भएको माओवादी युद्ध थप २ वर्ष लम्बियो । त्यसपछि २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौताअनुरूप ‘मानवअधिकार गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्ने र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न’ सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिएको हो । आयोगमा नेपाली सेनाका तत्कालीन नेतृत्व, रामेछाप गुल्मपति (नारायण दल) मेजर राममणि पोखरेलसहितका दोषीलाई कारबाही गर्ने माग राख्दै आयोगमा २०७३ जेठ २७ मा दोरम्बा काण्डका १५ पीडित परिवारले उजुरीसमेत दिएका थिए । तर, आयोगको २०७८ असारमा आएको वार्षिक प्रतिवेदनअनुसार ६३ हजार ७ सय १८ उजुरीमा छानबिन गर्ने र सत्य निरूपण गर्ने काम थाती छ । दोरम्बा काण्ड पनि त्यतैकतै कैफियत पृष्ठमा अड्किएर बसेको छ ।
विशेषतः मानवअधिकार छानबिनको रिपोर्ट आएपछि र सेनाअन्तर्गतकै छानबिन समितिले गरेको ठहरमा मेजर पोखरेललाई सेवाबाट बर्खास्त गरी २ वर्ष जेल सजाय सुनाइएको थियो तर, जेल हालिएपछि मानसिक अवस्थामा विचलन देखिएको भन्दै जेलमुक्त गराएपछिको अवस्थामा भने कहीं खुलाइएको छैन । २०६३ कै शान्ति सम्झौताअनुसार, द्वन्द्वमा मारिएका परिवारले पाउने राहत पीडित परिवारले पाएपनि उचित क्षतिपूर्ति वा पीडकलाई कारबाही, छोराछोरीलाई पठनपाठन वा जागिर–सुविधाको उपाय पहिल्याइएको छैन ।
आयोगको प्रतिवेदनमा स्पष्टताका साथ भनिएको छ– ‘हात पछाडि बाँधिएका १९ जना कब्जामा लिइएका व्यक्तिहरूलाई नजिकबाट बन्दुकले गोली प्रहार गरी मारिएको कुरा अन्तर्राष्ट्रिय मानवीय कानुन र खासगरी आन्तरिक प्रकृतिको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्णरूपमा कब्जामा लिइएका बन्दीहरूलाई संरक्षण गर्नुपर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा कन्भेन्सनको साझा धारा ३ को विपरीत भएको पाइयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको प्रतिकूल हुन गएको अनुसन्धान समिति ठहर रहेको छ ।’
पीडित परिवार र बाँचेकाहरू
दोरम्बा काण्डमा श्रीमान् र छोरा एकैसाथ गुमाउने सुन्तली मोक्तान साउन ३२ को घटनापछि झन्डै ६ महिनासम्म घर आइनन् । कोही आफन्त र रेडक्रसका प्रतिनिधिले सहयोग गरेपछि रामेछाप, मन्थलीसम्म पुगेर जीउज्यानको सुरक्षा गर्न सकिन् । ‘यहाँ घरमा सेनाले बन्दुक पड्काउँदै घेरा हालेपछि कोही भने झ्यालबाटै हाम फालेर बाँचेका रहेछन्, सेनाले सबै घर खानतलासी गर्दै लत्ताकपडा, फोटा, सामान बाहिर आँगनमा थुपारेका थियो । त्यसमा लगाइदिएको आगोको भुतभुते ३ दिनसम्मै रहिरह्यो,’ सुन्तलीले सम्झिन् । तत्कालीन दोरम्बा गाविस र हाल दोरम्बा–शैलुङ २ मा रहेको त्यही दोरम्बा काण्ड सम्झाउने मूलघरमै उनी एक्लै बसिरहेकी छन्, बाख्राबस्तु पालेर । ‘अब म कहाँ जाउँ ? छोराछोरी काठमाडौंतिरै छ । म भने आफ्नो यो माटो छाडेर कतै जान सक्तिनँ, जान पनि मान्दिनँ,’ उनले भनिन् ।
मारिएका दुई दाजुभाइ ठूलाराम–सानारामका श्रीमतीहरू पनि पुरानै थातथलोमा बस्छन् । द्वन्द्वको त्यो चरण पार गरेपछि नेपाली सेनामा भर्ना भएका ठूलारामका छोरा भूपेन्द्र योञ्जन अहिले भक्तपुरतिर बस्छन् भने सानुरामका छोरा प्रकाश योञ्जन नेपाल प्रहरीमा केही समय कार्यरत थिए । अर्का मृतक लक्ष्मण तामाङका छोरा दिक्पाल रोजीरोटीका लागि दक्षिण कोरिया गएर फर्केका छन् भने मृतक टेकबहादुर मगरकी श्रीमती शतलीमाया मगर अहिले दोरम्बा शैलुङ–२ की वडासदस्य छिन् ।
साउन ३२ मा युवराज मोक्तानको घरमा सेना आएपछि झ्यालबाट हाम फालेर बाँच्नेमध्ये धनबहादुर तामाङ अहिले दोरम्बा सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष छन् । अर्की मृतक अम्बिका दाहालका श्रीमान् हरि दाहाल ऊर्जामन्त्री पम्फा भुसालका निजी सहायक रूपमा कार्यरत छन्, उनी पनि झ्यालबाटै हाम फालेरै ज्यान जोगाउनेमा थिए । युवराजको घरमा भेला भएकामध्ये मैनकुमार मोक्तान, उदय मगर, रामकुमार पुलामी, राजन पौडेलसहित ११ जना भने झ्यालबाट वा कान्लाबाट हाम फालेर बाँचेका थिए । मृतक केही साथीभाइको सुरुमा नाम नखुले पनि उनीहरूको ठाउँठेगानाका आधारमा पछि स्पष्ट पहिचान गरिएको तामाङले जानकारी दिए ।
‘हामीले राज्यसत्ताबाट मारिएका साथीभाइको स्मृति र सम्मानमा अरू केही गर्न नसके पनि डाँडाकटेरीमा सहिद पार्क बनाएका हौं, यसका लागि गत आर्थिक वर्ष ०७५/७६ मा प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको थियो,’ प्रतिष्ठानका अध्यक्ष तामाङले सुनाए । त्यो पनि सार्वजनिक जग्गा पाइएको थिएन । हाल लालबहादुर तामाङकै नाममा रहेको निजी जग्गामा शहिद पार्क बनेको छ, दोरम्बाकै चिनारी र साझा भावनाको काम भएकाले पार्कले चर्चेको ४० रोपनी जमिन कालान्तरमा पार्कलाई नै दिने चाहना लालबहादुरले राखेका छन् ।
यो घटनालाई राजनीतिक प्रतिशोधका रूपमा लिएर नेपाली सेनालाई सुराकी गरेको भन्दै तत्कालीन माओवादी जनसत्ताले स्थानीय हेल्थपोस्टमा कार्यरत स्वास्थ्यकर्मी रेलिमाया तामाङ र रामेछापकै धोबिखोलावासी भीमबहादुर श्रेष्ठको ज्यान लिएका थिए ।
