पनौती/नेपाली काँग्रेसको पनौती नगरपालिका वडा नम्बर ७ को विवाद समाधान भएको छ । जिल्ला सभापति तिर्थ लामाको उपस्थितिमा बागी उम्मेवारले पार्टीको आधिकारीक उम्मेदवारलाई सघाउने लिखित सहमति भएपछि यो वडा पनि काग्रेसले विजयी हासिल गर्नेमा ढुक्क भएको छ ।

पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध वडा नम्बर ७ मा अध्यक्षको लागि कृष्णधन कर्माचार्य र सदस्यमा महेन्द्र सुधाकारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यी दुई नेताले स्वतन्त्र उम्मेदावारी संगै काग्रेसको माहौल विग्रिएको थियो । यस अघिको निर्वाचन पनि जितेको काग्रेसले यो वडामा आफ्नै नेता कार्यकर्ता मिलाउन एकसाता भन्दा अघि देखि सक्रिय प्रयास गरिरहेको थियो ।

शुक्रवार जिल्ला सभापति तिर्थ लामा, पुर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, पनौती निर्वाचन परिचालन समितिका संयोजक भोला थापा लगाएतका नेताहरुले लिखित सहमति गरेर काग्रेसलाई एकतावद्ध बनाउने बताएपछि विवाद मिलेको हो । यो वडामा फेरीपनि रामचन्द्र नास्नानीलाई पार्टीले आधिकारीक उम्मेदवार बनाएको छ ।

लिखित सहमतिमा सबै नेता कार्यकर्ताहरुले पार्टीको आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने, चुनाव जितेपछि सहकार्य गरि अघि बढ्ने भन्दै वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कृष्णधन कर्माचार्यको संयोजकत्वमा धनवहादुर जंगम, हेमा मानन्धर, निलकण्ठ सैजु लगाएतको संयन्त्र निर्माण गरि विवाद समाधान गरिएको निर्वाचन परिचालन समितिका संयोजक भोला थापाले जानकारी दिनु भएको छ । विवाद समाधान भए लगत्तै नगरप्रमुखका उम्मेद्वार रामशरण भण्डारी सहित सबै नेता कार्यकर्ताहरु नेपाली काग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा सहभागि भएका थिए ।

