काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा नक्सा पास नगरी बनेको घरहरुको बारेमा पटक पटक समाचार आउँदा पनि नगरपालिका चुपचाप बसेको छ । वडाले ठुला घरानाका व्यवसायीहरुले नक्शा पास नै नगरी बनाएको घरहरुबारे के गर्ने भनि दुईसाता अघि वडा कार्यालयले सोधेको प्रश्नको जवाफ अझै आएको छैन ।
पनौतीको खोपासि स्थित सिजि भिलेजमा नक्शा पास नभएका घरहरु निर्माण भैरहेको बारे मिडिया दर्पणमा पटक पटक समाचार आएपछि पनौती नपा वडा नम्बर ९ ले यस बारेमा चासो दिएको थियो । काभ्रेको पनौती नगरपालिका– ९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास निर्माणको काम गरिरहेको छ ।
धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउनु पर्ने वडा कार्यालयको राय रहेको छ । यहाँ नेशनल होल्डीङ्ग प्रालिको नाममा रहेको जग्गामा अहिले धमाधम घरहरु निर्माण भैरहेको छ । सिजि प्रोपर्टीज प्रालिले विभिन्न कम्पनीको नाममा यहा घरजग्गाको कारोबार गरिरहेको छ ।
यहाँ धेरै घर बनिसकेको भएपनि अहिले वडा कार्यालयमा एउटा घरको नक्शा पास गर्न निवेदन परेको छ । वडा कार्यालयमा नक्सा पासको लागि दिएको कागजातमा सुयोन्स होल्डीङ्ग प्रालिको पनि नाम छ ।
एउटा घर निर्माणको लागि नक्शा पास गर्न निवेदन परेपछि वडा चारकिल्ला बारे जाचवुझ गर्न फिल्डमा जादाँ अन्य धेरै घरहरुको निर्माण भैसकेको, केहि घरहरु निर्माणको अन्तिम चरणमा रहेको पाइएको भन्दै प्राप्त निवेदन उपर के गर्ने भन्ने बारेमा नगरपालिकालाई सोधिएको छ ।
वडा अध्यक्ष सहकुल कुमार हुमागाईले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ– वैशाख २१ गते कित्ता नं ५९२ र ५९३ को चार आना एकपैशा क्षेत्रफलमा घर निर्माणको लागि नक्सा पास गर्न एउटामात्र निवेदन आएको यस क्षेत्रमा जादाँ नक्शा पास अगावै ३०÷४० वटा घर बनिसकेको देखिएकोले यस्तो अवस्थामा नक्शा पास प्रक्रिया अघि बढाउन गर्न मिल्ने वा नमिल्ने स्पष्ट कानुनी आधार एवं प्रक्रियाको बारेमा मार्ग निर्देशन गर्न अनुरोध छ । यहि जेठ १३ गते नगरपालिकालाई पठाएको पत्रको जवाफ नआएको वडा अध्यक्ष हुमागाईको भनाई छ ।
स्थानिय बासिहरुको भनाई अनुसार यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ सबै साढे दुईतल्ले एकैनासको घर निर्माण हुने बताइएको छ । उनिहरुको भनाई अनुसार अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ । २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको छ ।
२०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको भन्दै स्थानीय बासिहरुले गत श्रावण देखि निर्माण कार्य शुरु गरिएको बताएका छन् ।पनौती नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तलेजु गुठीको नाममा रहेको कित्ता नं ५८४ को २ रोपनी ६ आना १ पैश २ दाम जग्गाको मोहिमा त्रिशक्ति सिमेन्ट प्रा.लि. नाम कायम गर्न पनि निवेदन परेको छ ।
यो जग्गा पनि सामुहिक आवास निर्माण भैरहेको क्षेत्रमा रहेको अनुमान गरिएको छ । यस बारेमा पनि वडा कार्यालयले बुझरहेको वडा अध्यक्ष हुमागाईले बताउनु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ ।
