काभ्रे/ पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाईएको छ । ।
आजदेखि असार १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईले जानकारी दिए ।
कार्यालय प्रमुख सेढाइले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सन समेत खोप केन्द्रमा राखिने छ । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।
यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने उनले बताए । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २ सय थप लक्षित संख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
उनका अनुसारअसार ९ गतेदेखि १७ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । बालबालिकालाई खोप लगाउनका लागि काभ्रेमा मात्रै ६४५ वा खोप केन्द्र तोकिएका छन् ।
कार्यालयले काभ्रेका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ ।विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ ।
पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । देशभरि ३९ लाख बालबालिकालाइ ‘फाइजर बायोएनटेक’ खोप दिन लागिएको हो ।