After header

मण्डनदेउपुरले ल्यायो १ अर्ब ९३ लाख ७२ हजारको बजेट

मण्डनदेउपुर/  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ११ औं अधिवेशन सम्पन्न गदै अगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मण्डनदेउपुरले आगामी आर्थिक वर्षको बजेट ८८ करोड ९३ लाख ७२ हजार २३५ तथा सामाजिक सुरक्षा भत्ता १३ करोड सहित कुल १ अर्ब ९३ लाख ७२ हजार २३५ रकम विनियोजन गरेको छ ।

जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ तथा पूँजीगत तर्फ ४० करोड २७ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सबैभन्दा बढी नगरपालिका अर्न्तगत प्रत्येक वडाहरुमा पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जस मध्ये सिंचाई तर्फ ७२ लाख र खानेपानी तर्फ ७२ लाख रुपैयाँ रकम अनिवार्य विनियोजन हुने जनाएको छ । नगर सभामा नगरका उपप्रमुख विष्णुमणी नेपालले बजेट प्रस्तुत गरेका थिए ।

नगरप्रमुख टोक बहादुर बाईवाले ‘देउपुर र मण्डन ः कृषि र पर्यटन’ भन्ने मुल नाराका साथ सबल, समुन्नत र समृद्ध नगर बनाउने सोच र आर्थिक, भौतिक, सामाजिक, साँस्कृतिक र मानवीय पक्षहरुको दिगो, गुणात्मक र समष्टिगत विकास प्रवर्द्धनबाट समुन्नत, समृद्ध नगरपालिका र सुखि नगरवासी बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नगरप्रमुख वाइवाले दिगो कृषि उत्पादन प्रणाली, प्रव्रद्धन र संकलन गरि व्यापारको श्रृङखलामा आवद्धता, कृषिको विशिष्टीकरण, उपभोगमा विविधिकरण गर्ने योजना, सामाजिक साँस्कृतिक पहिचानमा आधारित पर्यटन क्षेत्रको विकाशका लागि भाषिक साँस्कृतिक संग्रहालय र जीवित संग्राहलय स्थापना गर्ने, सहभागितामुलक विकास, जनउत्तरदायी शासकीय व्यवस्था, सुशासनको प्रत्याभूति तथा सहज रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने योजना नीति तथा कार्यक्रममा सार्वजनिक गरेका छन् । नगरको अर्को बैठक असार १५ गते बस्नेछ ।

एक पटक पढ्नुहोस