चितवन/ नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा उपचारमा छुट दिने सहमति भएको छ । नेपाल प्रहरी श्रीमती सघं र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ ।
नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरुका परिवार र अमर प्रहरीका परिवारलाई सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ ।
सम्झौता अनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुने छैन । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताए ।
अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उनले जानकारी दिए ।सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरुमा २५ प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिने उल्लेख छ ।यो सम्झौता आउँदो साउन १ देखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ ।
