मोरङ/ विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार भारतको दरभंगाबाट सकुशल उद्धार गदै अपहरण सलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसालाई दिपेन्द्रकी प्रेमिका अञ्जली साहले अपरहण गरेर दरभंगा पु¥याएको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक कार्कीले बताए ।
उनले बालिका र अपहरणमा संलग्न साहलाई अहिले बाटोमा ल्याउने क्रममा रहेको बताए । आइसकेपछि विस्तृत जानकारी प्राप्त हुने उनले सुनाए । तीन वर्षअघि सप्तरीको राजविराजमा विवाह भएको इञ्जिनियर दीपेन्द्रकी पत्नी अध्ययनका लागि काठमाडौं गएपछि उनको सामाजिक सञ्जालमा अञ्जलीसँग भएको भेट प्रेममा परिणत भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
अञ्जलीले सोमबार छोरी निकिसालाई लुगा किनिदिने भन्दै दीपेन्द्रलाई विराटनगरस्थित रोडशेष चोकमा बोलाएर बालिकालाई अपहरण गरेको अनुसन्धानबाट खुलेको कार्कीले बताए ।दीपेन्द्रलाई रोडशेष चोकको एक होटलमा चिया खान लगाएर अञ्जलीले बालिकालाई लिएर भागेपछि प्रहरीमा उजुरी गरेको थियो ।
