दाङ / दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन।
लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको भन्ने खबर आएको बताए।
‘अरूको अवस्था सामान्य छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘तीन विद्यार्थी नदीमा बग्दा अलि धेरै पानी खाएको भन्ने छ। उनीहरूको उपचार लमहीमा भइरहेको छ।’
लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी रहे पनि अवस्था खतरामुक्त रहेको भन्ने सूचना आफूले पाएको एसपी काफ्लेले जानकारी दिए।
६र७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी आएको उनले बताए।
राजपुर गाउँपालिका- ७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ। विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन्। डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए।
