After header

काभ्रे जिल्लाभर १५ हजार कन्या पूजिए 

टोल–टोलमा कन्या पुजिए

शुकदेव थपलिया / काभ्रे

यो बर्ष काभ्रे जिल्लामा १५ हजार कन्याहरू पूजिएका छन् । शुक्रबार काभ्रे जिल्लाको विभिन्न ठाउँमा गरिएको कन्या पुजामा यो बर्ष १५ हजार कन्या पुजिएको बताईएको छ । काभ्रेको बनेपा, नाला, साँगा, दाप्चा, खड्पु लगायत अधिंकाश नेवारी र अन्य समुदायमा बसोबास रहेका स्थानमा यो बर्ष १५ हजार कन्याहरु पूजिएका छन् । गत बर्ष कोभिडका कारण जिल्लाभर ८ हजार मात्रै कन्याहरु पुजिएको थियो । यस बर्ष बनेपामा मात्रै ८ हजार र बाँकी ७ हजार काभ्रे जिल्लाको विभिन्न स्थानका कन्याहरु पूजिएको सनातन कन्या पूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए ।

रजस्वला नभएका बालबालिकाहरुलाई कन्याको रुपमा पूजा गर्ने गरिँदै आएको छ । कन्याहरुलाई पूजा गर्दा कन्याहरु निरोगी हुने, सुखसम्पत्ति पाई खुसी हुने र कन्याहरुलाई दान दक्षिणा दिने मनुष्यको जीवन पनि सफल हुने धार्मिक आस्था रहेको छ । सबै जात, धर्म र समुदायका कन्याहरुको सहभागितामा पुजिएको बैद्यले जानकारी दिए । वि.स. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास समेत छ ।   कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ । सनातन कन्या पूजा प्रबन्ध समिति तथा व्यतिmगत गरी अधिराज्यभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दिइने गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजार दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरु आएका थिए । कन्याहरुलाई पूजिएको एक हप्ता पछाडी पञ्चदान गर्ने पनि परम्परा रहेको र यसमा पाँच थरिका अन्नहरु दान गर्ने गरिँदै आएको बनेपाका जिनेश शाक्यले बताए ।

एक पटक पढ्नुहोस