काठमाडौं /प्रतिनिधिसभाको र्बठकले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरी २०६२–०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरीको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार बस्ने सभामुख सापकोटाले जानकारी दिए ।
