After header

दर खान माइती हिँडेका दुई जनाको अटो दुर्घटनामा मृत्यु

सल्यान / सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरकी वर्ष ३६ की धनीकुमारी पुन र वर्ष अन्दाजी ६० की कमलाकुमारी पुन रहेका छन् । घाइते हुनेमा वर्ष २१ की अमृता बबाल र उनका वर्ष ४ का छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी छोरी वर्ष ६ की अस्मिता पुन रहेका छन् । चालक र अर्को एक जनाको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा परी घाइते भएकालाई उद्धार गरेर जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । घाइते पाँच जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको उनले जानकारी गराए । उनका अनुसार साँझको समय भएका सडकदेखि कति मिटर तल खसेको छ भन्ने बारेमा खुल्न सकेको छैन । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको छ ।

कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका वडा अध्यक्ष रविलाल बस्नेतले चालकले बढी कमाइ हुने लालचमा परेर क्षमताभन्दा धेरै यात्रु राखेका कारण उकालोमा चढ्न नसकेपछि ब्याक भएर दुर्घटनामा परेको जस्तो देखिएको बताएका छन् । उनका अनुसार उनीहरु तीज पर्वको दर खानका लागि माइतीले बोलाएपछि माइत जाँदै थिए । अटो सडकदेखि करिब ५० मिटर तल खसेको र तीजको रमझममा अटो दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको उनको भनाइ छ ।

एक पटक पढ्नुहोस