After header

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा सम्पन्न

काभ्रे/  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा आज शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री श्री बालकृष्ण खाँणले संयुक्त भूमि पूजा गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा सम्पन्न भएको हो । यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा आएको बेला तत्कालिन प्रधानमन्त्री कोइराला र मोदीले संयुक्त रुपमा गरेका थिए ।

भूमि पुजनपछि गृहमन्त्री खाँणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको बताए । यस सहयोगका लागि भारत सरकारलाई गृहमन्त्री खाणले धन्यावाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।

कार्यक्रममा  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताए । साथै उनले आधुनिक भौतिक संरचनाको अभावले अन्तर्राष्ट्रिय स्तरको तालिमहरू संचालन गर्न नसकिएको उल्लेख गर्दै यस परियोजना निर्माण पश्चात अन्तर्राष्ट्रिय स्तरको तालिमहरू समेत संचालन गर्नमा यस परियोजना कोसेढुंगो सावित हुने विश्वास व्यक्त गरे ।

एक हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुने छ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ ।

आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।उक्त परियोजना सन् १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लगातमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख, धुलिखेल नगरपालिकाका प्रमुख, पनौति नगरपालिकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, धुलिखेल, बनेपा तथा पनौति नगरपालिकाका उपप्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, भारतीय राजदूतावासका पदाधिकारीहरू,काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस