पनौती / ‘एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराकासाथ यो वर्ष पनि रेविज दिवस मनाइएको छ । पनौती नगरपालिकाको बल्थली स्वास्थ्य चौकीमा जनसहभागिता जुटाइ रेविजसँग सम्बन्धित जानकारी गराउँदै बेलैमा सचेत हुन अभिमुखिकरण कार्यक्रम गरिएको थियो । बल्थली स्वास्थ्य चौकीका कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, वडा समिति, किशोरकिशोरी समूह तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न अभिमुखिकरणमा प्रशिक्षण गराउँदै ज.स्वा.नि. दिक्षा थापाले हाल नेपालमा रेविज विरुद्धको खोप ०,३,७ दिन दिइने भएकोले कुकुर, चमेरो, विरालोजस्ता शंकास्पद जनावरको टोकाइ तथा र्यालको सम्पर्क भएको खण्डमा यथाशिघ्र भ्याक्सिन लगाउने जानकारी गराउनु भयो । 
पनौती नगरपालिकाले प्रत्येक वर्ष सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविज बिरुद्धको खोप दिदै आइरहेको छ । यस वर्षपनि प्रत्येक वडामा कुकुरलाई रेविज खोप दिँदै आएको सूचना प्रकाशित गरेको छ ।
पनौती वडा नं. ११ मा सञ्चालित विश्व रेबिज दिवस २०७९ मा सहभागीहरुले कुकुर मात्र नभई चमेरो, बिरालो, स्यालहरुसँग पनि सचेत रहनुपर्ने जानकारी पाएको बताए । साथै शंकास्पद जनावरको टोकाइ तथा र्यालको सम्पर्क भएको खण्डमा बेलैमा स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क राख्ने जानकारी पाएको बताए । पनौतीको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज बिरुद्धको खोप दिइन्छ । 
