काठमाडौं/ मतदानका दिन पनि अघिपछि जस्तै सवारी साधन चल्न दिने निर्वाचन आयोगले जनाएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भइरहेको निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमा जनाकारी गराएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने बताए । उनले मतदानका दिन नेपाल बन्द हो कि जस्तो गरी सवारी साधन बन्द नगर्ने उल्लेख गरे ।
उनले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताए ।
