After header

संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई नो भोट 

बनेपा । नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले प्रतिनिधि सभा र प्रदेश सभास सदस्य निर्वाचनमा संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई भोट दिनुको औचित्य नरहेको बताउनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनले आज बनेपा नगरपाकिला १ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सिंहदरवारको अधिकारलाई जनताको नजिकको सरकार स्थापना गरेको संघीयताको विरोध गर्ने उम्मेदवारलाई जनताले भोट दिनु भनेको प्राप्त उपलब्धी गुमाउन दिनु सरह भएको बताउनुभएको हो ।

अहिलेको निर्वाचन संविधानको कार्यान्वयन र प्राप्त उपलब्धीको रक्षा गर्दै विकास र समृद्धिको लागि भएकोले त्यसको नेतृत्वगर्ने बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो । अहिले सामान्य अवस्था नभएर गणतन्त्र र लोकतन्त्रको निम्ति जेल, नेल र यातना व्यहोरेर प्राप्त गरेको उपलब्धीलाई एमालेले ध्वस्त पार्न खोजेको अवस्था रहेकोले अबको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाई छ । ‘७० बर्ष लगाएर प्राप्त गरेको संविधानलाई जोगाउन सकेनौ भने सारा उपलब्धी गुम्नेछ’ उहाँले भन्नुभयो, ‘विगतमा बलिदानीको जगबाट प्राप्त गरेको संविधान समाप्त गर्ने काम एमाले अध्यक्ष केपी ओली र हामीले नै भोट दिएर जिताएको मान्छेहरुबाट भएकोले अब त्यस्तालाई चिन्न आवश्यक छ ।’

माधव कुमार नेपाल प्रधानमन्त्री र आफु संविधान सभा सदस्य बन्ने बेलामा निर्णय गरेको काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र(सेज) बनाउने भनेर गरेको निर्णयलाई भ्वस्त गर्ने काम एमालेबाट भएको उहाँले आरोप लगाउनुभयो । त्यस्तै सूर्यविनायक धुलिखेल सडक खण्डलाई ६ लेनको बनाउने जापान सरकारले गर्न लागेको सहयोग समेत केपी ओली सरकारले गर्न नदिएको उहाँले बताउनुभयो । 

सो कार्यक्रममा उहाँले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु यसअघि पनि जनताले परीक्षण गरिसकेकोमा सफल भएका नेतृत्वहरु भएको बताउनुभयो । एमालेका बाँस्कोटा पहिला पटकमा नै जनताले लिएको परीक्षामा टेक प्रकरणमा मुछेर असफ भएको कारण जनताले सफल उम्मेदवारहरु रोज्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

एमाले परमादेशी पार्टी

चुनावी भेटघाट कार्यक्रममा नेता सापकोटाले एमाले आफै परमादेशी पार्टी भएको बताउनुभयो । एमालेले गठबन्धनलाई परमादेशी भनेर लगाएको आरोपको खण्डन गर्दै उहाँले कम्युनिष्ट पार्टीलाई फुटाएर तीन वटा पार्टी बनाउँदै एमालेमा फकिर्ने ओली आफै परमादेशी पार्टीको अध्यक्ष बनेको बताउनुभयो ।

संविधानले विकेन्द्रिकृत गरेको अधिकारलाई ओली नेतृत्वको सरकारले केन्द्रिकृत गर्दै अदालतमाथि नै सेटिङ गरेर पार्टी फुटाएको नेता सापकोटाको भनाई छ । एमालेका नेताहरुले आफैले बनाएको घोषणापत्रको सामान्य काम पनि कार्यान्वयन गर्न नसक्ने पार्टीले विकासको मुल फुटाएको भनेर भ्रम फैलाउनु हास्याँस्पद भएको टिप्पणी गर्नुभयो । सो क्रममा उहाँले गोकुल बाँसकोटा निर्वाचनमा लडेर जितेको बेलामा बनाएको घोषणापत्रमा प्रत्येक टोलमा ‘फ्रि वाईफाई सेवा’ उपलब्ध गराउने भनेर लेखिएको भएपनि उनै व्यक्ति सञ्चारमन्त्री हुने वेलामा कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुँमागाई, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार भोला प्रसाद अर्याल लगायतको उपस्थिति रहेको कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस