लालध्वज र तीर्थलाई खानीखोलामा भव्य स्वागत

हामी जे बोल्छौ त्यही मात्रै गछौ : तिर्थ लामा

खानीखोला/  वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका जनताले भव्य स्वागत गरेका छन् ।

चुनावी घरदैलो एवम् कोणसभालाई सम्बोधन गर्नका लागि शुक्रबार खानीखोला गाउँपालिका आइपुगेका काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ख का प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामा, माओवादी केन्द्रकी बागमती प्रदेशका समानुपातिक उम्मेदवार मनिता लामालाई स्थानीयले भव्य स्वागत गरेका हुन् । खानीखोला गाउँपालिका वडा नं. १ को दाहालडाँडा, वडा नं. २ को सर्चीडाँडा, वडा नं. ३ को जुरे र वडा नं. ०४ को जगथलीमा मतदाताहरुले उम्मेदवारहरुलाई भव्य स्वागत गरेका हुन् ।

प्रत्यक्षतर्फका उम्मेदवारद्धय लालध्वज र तीर्थले स्वागत गर्न आइपुगेका मतदातालाई संक्षिप्त सम्बोधन गरेका थिए । वडा नं. ३ को जुरे र वडा नं. ४ को जगथलीमा उम्मेदवारद्धयले कोणसभामा सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उम्मेदवारद्धय लालध्वज र तीर्थले आफूहरुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘आजको आजै हाम्रो टिमले बोलेको कुरा पूरा गर्न नसक्ला, केही समय ढिला हुन सक्ला तर हामीले बोलेको कुरा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु’ वडा नं. ४ को जगथलीमा आयोजित कोणसभामा लालध्वजले भने । वडा नं. ३ को जुरेमा आयोजित कोणसभामा बोल्दै प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामाले आफूहरुले जनतालाई झुटो आश्वसन नबाँड्ने बताए । ‘हामी जनतालाई झुटो आश्वसन बाँड्दैनौँ, हामी जे बोल्छौँ त्यो पूरा गर्छौ’ उनले भने ।

उम्मेदवारद्धयले विकास निर्माणको काममा आफूहरुले डाँडापारिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास समेत व्यक्त गरे । जिल्लाका १३ स्थानीय तहमध्ये पहिलो प्राथमिकतामा राखेर खानीखोलाको विकास गर्ने उनीहरुको प्रतिज्ञा थियो । कम्तिमा एउटा सडकलाई जसैगरी स्थायी रुपमा चल्नेगरी निर्माण गर्ने उम्मेदवारद्धयको प्रतिज्ञा थियो ।

एक पटक पढ्नुहोस