After header

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ र लामाको दावी

हेटौंडा/  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ र बहादुर सिंह लामा दावेदार रहेका छन् । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभामा निर्वाचित २५ जना र समानुपातिक तर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्ने छन् । गएको मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन् । निर्वाचन समितिले पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकेको छ । पुस १२ गते दिउँसो ४ बजे दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने र पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

पुस १३ गते बिहान नै १० ः ३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि समय तोकिएको छ ।सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ । पुस १३ गते दिउँसो १२ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सक्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले इच्छा देखाएका छन् । बानियाँ मकवानपुर २ (२) बाट र लामा नुवाकोट २ (२) बाट निर्वाचित भएका थिए । दुवै नेता संस्थापन निकट हुन् । अहिलेसम्म संस्थापन इतर समूहबाट कुनै पनि नेताले सार्वजनिक रुपमा दलको नेतामा दाबी प्रस्तुत गरेका छैनन् ।

एक पटक पढ्नुहोस