बनेपा/ विभिन्न उमेर समुहमा जिल्लामा खेलकुद प्रतियोगिता हुने गरेपनि छ बर्षमुनीका बालबालिकाका लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । बनेपामा पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीबीच किन्डर ओलम्पिक प्रतियोगिता भएको छ । प्रतियोगिताले विद्यार्थी र अभिभावकलाई थप हौसला प्रदान गरेको छ ।
लायकु राजमञ्चको खेलमैदानमा भएको ओलम्पिकमा जिल्लाका १२ विद्यालयका २८० बालबालिकाले सहभागिता जनाएका छन् । जित्नुभन्दा सहभागिता नै महत्वपुर्ण रहेको सन्देश बोकेको प्रतियोगितामा अभिभावक आफ्ना छोराछोरीका लागि प्रोत्साहन दिन लायकु मंञ्च पुगेका थिए । अभिभावकले आफ्ना बालबालिकासँगै अरुको समेत प्रोत्साहन गरेका थिए ।
तीन बर्षदेखि छ बर्षसम्मका बालबालिकाबीच नाचगान र रमाईला प्रतियोगिता भएका थिए । अर्लीचाईल्डहुड टिर्सस एसोसिएसनको आयोजनामा भएको प्रतियोगिताले बालबालिकामा सानो उमेरदेखि खेलकुदप्रती चासो दिने र आत्मविश्वास बढाएको सहभागीका अभिभावकले प्रतिक्रिया दिनुभएको छ ।
विगतमा काठमाडौमा हुँदै आाएको ओलम्पिक मोफसलमा समेत विस्तार भएपछि अभिभावक समेत खुसी भएका छन् । प्रतियोगिताले फरक फरक विद्यालयका विद्यार्थीबीच सम्बन्ध विस्तार गरेको र खेलमार्फत प्रतिस्पर्धाको वातावरण सृजना गराएको छ ।