काभ्रे । काभ्रे जिल्लालाई मुख्य केन्द्र बनाएर सञ्चालन भइरहेको बेथानचोक खबरद्वारा सञ्चालित समाचार पोर्टल ‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि १९ चैत्र अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा सुरु गरेको अनलाइन २०७४ मा बेथानचोक खबर डटकम संचालनमा ल्याइएको थियो ।
बेथानचोक खबर ले स्थापनाको ५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा आफ्ना सम्पूर्ण पाठक, श्रोता–दर्शक, समाचार स्रोत, लेखक,विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गरेको छ । पाँच बर्षको यात्रामा अनेक उकाली–ओराली र समस्या–संकटहरू देखे–भोगेका र त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएको बताउँदै । सांघुरो बजार र जनशक्ती अभावले मोफसलका अनलाइन डिजिटल पत्रिका लगायत संचार माध्यम संचालनमा आर्थिक चुनौती थपिएको समेत सञ्चालक सुरज श्रेष्ठले बताए ।
उनले विगत सम्झँदै भने – विगत एक वर्षको अवधि साँच्चै नै असामान्य रह्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएक कोभिड–१९ बाट सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवम् सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिर्न सफल भएका छौं । हामी कोभिडपछिको परिदृश्यलाई ख्यालमा राख्दै अझ परिस्कृत, परिमार्जित एवम् नयाँ परिवेशको आवश्यकताअनुरूप चुस्त–दुरुस्त हुँदै छौं ।राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा हामीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौं ।
पत्रकारिताका मूलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै नागरिक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नेछौ । लुकेका र लुकाईएका कुराहरु उजागर गर्दै समुन्नत समाजको निर्माणमा खबरदारी र साझेदारी गरेर हामी अगाडी बढ्नेछौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।
उनले सुगम देखि दुर्गमसम्म, सहरदेखि गाउँसम्मका सबैखाले मुद्दाहरुमा विशेष केन्द्रित बेथानचोक खबर डटकममा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट भइरहेको बताउँदै । कसैप्रति आग्रह/पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारितामा जोड दिंदै आएको बताएका छन् ।
अनलाइन पत्रकारिता मार्फत काभ्रे जिल्ला भित्रका विकृति विसंगति संगै लुकेको र लुकाइएको हरेक खबरहरुलाई निरन्तर सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चालक श्रेष्ठले । बेथानचोक खबर डटकमप्रति यहाँहरुले देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षा समेत गरेका छन् ।
