काठमाडौ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा छोराको मृत्यु भएको छ भो आमा बुबा घाईते भएका छन् । मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।
उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ । उनका आमा र बुबाको जिल्ला अस्पतालमा उपचार भईरहेको वडा अध्यक्ष शेर्पाले जानकारी दिए ।
