After header

बनेपाको चण्डेश्वरी जात्रा आज बाट शुरु

काभ्रे/  काभ्रेको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ ।

तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधि अनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ । यही अवसरमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।

यसपालि यो मेला आइतबारसम्म लाग्नेछ । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार ९खड्ग०सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् ।

जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ ।

चण्डेश्वरी देवतालाई लसःकुस अर्थात स्वागत गर्ने प्रतीकको रुपमा मत पूजा गरिएको मान्यता रहिआएको छ । यस दिन जसिगाः अर्थात जलेश्वर महादेवमा मेला नै लाग्ने गर्दछ । यहाँ स्नान गरेमा शुद्ध भइन्छ भन्ने धार्मिक मान्यता छ ।जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्छ । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीयहरुले बताए । स्थानियका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

जात्रामा पूर्णिमाको दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताए । उनका अनुसार जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । बनेपा नगरपालिकाले जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बिदा दिईएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास रहेको छ ।

एक पटक पढ्नुहोस