After header

‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने गृहसचिव भट्टराईको निर्देशन

काठमाडौं/ गृहसचिव दिनेश भट्टराईले ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने प्रहरीलाई निर्देशन गरेका छन् । आज मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा उनले यस्तो बताएका हुन् ।

गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताए ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेका समेत उनले बताए । गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न समेत आग्रह गरे ।

कार्यक्रमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहसचिव ज्यूबाट प्राप्त महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने गरी आफू र आफ्नो संगठन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने आईजीपी कुँवरले बताए ।

निरीक्षण भ्रमणका क्रममा गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिएका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थिगयो भने भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस