नवलपरासी/ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय छोराले आमाको हत्या गरेका छन् । सोमबार साँझ तिर उनले धारिलो हतियार प्रहार गरि आफ्नै ५० वर्षीय आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको र मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार भएका उनले जानकारी दिए । उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ।
काम गरेर साँझ घर फर्केका मृतकका श्रीमानले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ । आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए ।
कुटपिट सहन नसकेपछि उनकी श्रीमती दुई महिनाअघि माइती गएर बसेको प्रहरी उपरीक्षक पाण्डेले बताए । हत्यापछि फरार रहेका अभियुक्त रूपन्देहीको गैंडाहवा ८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ गरिएको डिएस्पी पाडेले जानकारी दिए । किन र केका लागि आमाको हत्चया गरिएको भन्नेबारे थप अनुशन्धान भईरहेको उनले जनाकारी दिए ।
